
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बजबुत बनाउँदै स्थायी समाधान दिनुपर्ने बताएका छन् ।
बिहीबार एक विज्ञप्तिमार्फत पूर्वमन्त्रीसमेत रहेका उपाध्यक्ष यादवले सर्वदलीय, निष्कलंक र सक्षम व्यक्तिको नेतृत्वमा वैध ढंगले अन्तरिम सरकार बनाउनुपर्ने बताए । उनले जारी गरेको विज्ञप्तिमा लेखेका छन्, ‘ अन्तरिम सरकारले एक वर्षभित्र स्वतन्त्र निस्पक्ष र समावेशी निर्वाचन गराउने ।’ यसो गर्दा वर्तमान संकटको सही समाधान दिन सकिने उनको भनाइ छ ।

यस्तो छ यादवले अघि सारेको समाधानका चार विकल्प
१. अन्तरिम सरकारको गठन
सर्वदलीय, निष्कलंक र सक्षम व्यक्तिको नेतृत्वमा वैध ढंगले अन्तरिम सरकार बनाउने । अन्तरिम सरकारले एक वर्षभित्र स्वतन्त्र निष्पक्ष र समावेशी निर्वाचन गराउने ।
२. संविधान पुनर्लेखन आयोग गठन
पूर्वप्रधानन्यायाधीश वा संविधानविद्को नेतृत्वमा संविधान पुनर्लेखन आयोग गठन गर्ने ।
यो आयोगले समावेशी, पारदर्शी र जनउत्तरदायी राज्य संरचना सुनिश्चित गर्न संविधान पुनर्लेखन गर्ने ।
३. सम्पत्ति छानबिन आयोग गठन
सरकारको कुनै हस्तक्षेप नहुने गरी स्वायत्त, स्वतन्त्र र शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गर्ने । यसले २०४८ सालदेखि हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री, सांसदलगायत जनप्रतिनिधि, पार्टी अध्यक्षसहितका पदाधिकारी, न्यायाधीश, कम्तीमा अधिकृतदेखि उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन र कारबाही गर्ने, अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने ।
४. ‘राइट टु रिकल’को व्यवस्था
अहिलेको व्यवस्थालाई पारदर्शी बनाउँदै व्यवस्थागत सुधार र जवाफदेहिताका लागि ‘राइट टु रिकल’ को व्यवस्था लागु गर्ने । निरंकुश बन्ने जोखिम अन्त्य गर्न जनप्रतिनिधिको कार्यकालका विषयमा पुनर्विचार हुनुपर्ने । यो व्यवस्था राजनीतिक दलभित्र पनि लागु गर्ने ।