
भारतको उत्तर प्रदेश प्रहरीले नेपालसँग सिमाना जोडिएका उत्तर प्रदेशका सात जिल्लामा सुरक्षा बढाइएको बताएको छ ।
नेपालमा जेनजीको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उत्पन्न परिस्थितीका कारण यस्तो कदम चालिएको प्रहरी महानिर्देशक (डीजीपी) राजीव कृष्णले बताएको एनडीटीभीले जनाएको छ ।

उत्तर प्रदेशको राज्यको राजधानी लखनउमा पत्रकारहरूसँग कुरा गर्दै डीजीपी कृष्णले नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका सातवटै जिल्लामा सतर्कता अपनाइएको बताए ।
भारतको सशस्त्र सीमा बल (एसएसबी)का सबै सीमा चौकी, स्थानीय प्रहरी चौकी र जाँच चौकीहरूलाई थप सुदृढ बनाएको पनि बताए । आवागमनका नाकाहरूमा कडाइ गरिएको र अधिकारीहरूले कडा निगरानी गरिरहेका बताएका छन् ।
कुनै पनि नकारात्मक प्रभाव पर्न नदिन सीमावर्ती क्षेत्रमा सिभिल प्रहरीको तैनाथि पनि बढाइएको उनले बताए ।
उनले नेपालमा फसेका भारतीय नागरिकहरूका लागि सम्पर्क माध्यमहरू पनि खोलिएको समाचारमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्रीको निर्देशनमा जिल्लाहरूमा प्रहरी उपस्थिति बढाइएको र सीमापार आवागमनलाई पनि सीमित गरिएको बताइएको छ । नेपालको विकसित अवस्था हेरेर थप कदमहरू चालिने डीजीपीले उल्लेख गरेका छन् ।
डीजीपीका अनुसार केन्द्रीय सुरक्षा बलहरू र नेपाली अधिकारीहरूसँग पनि समन्वय भइरहेको छ ।
नेपालमा राजनीतिक अशान्ति र सुरक्षाको नाजुक अवस्थालाई मध्यनजर गर्दै यो सतर्कता बढाइएको हो । नेपालका कारागारबाट धेरै कैदी भागेकाले देशभर अशान्ति पैदा भएको पनि समाचारमा उल्लेख छ । एनडीटीभी