
रौतहट जिल्लाका विभिन्न स्थानहरूमा शुक्रबार नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको संरक्षणका लागि शान्तिपूर्ण प्रदर्शन गरेको छ।
गरुडा बजारमा प्लेकार्डसहित दर्जनौँ नेताकार्यकर्ताहरूले मूल सडकमा नारा जुलुस सहित प्रदर्शन गरेका छन्। उनीहरुले ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘सैनिक शासन चाहिँदैन’ जस्ता लगाएका छन् ।

जुलुसमा कांग्रेसका सुनिलकुमार यादव, उपमेयर पुनम कुमारी चौधरी, वृन्दावन नगरपालिकाका पूर्व मेयर रामसिनेहि यादव, वडा अध्यक्ष प्रत्यासी रमेश प्रसाद यादवसहित जिल्ला, नगर र वडा तहका नेताहरूको उपस्थिति रहेको थियो। नेताहरूले संवैधानिक शासनको निरन्तरता र संरक्षण आवश्यक रहेको भन्दै संविधानको रक्षा नै राष्ट्रको स्थायित्व र जनअधिकारको सुरक्षा गर्ने आधार भएको स्पष्ट पारे।
यस्तै, फतुवा विजयपुर नगरपालिका स्थित विजयपुर बजारमा कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको नेतृत्वमा अर्को सशक्त प्रदर्शन सम्पन्न भएको छ। उनले संविधानमाथि बढ्दो खतरा प्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “संविधानमाथि आँच आउनु केवल कागज च्यातिनु होइन, यो हाम्रो संघर्ष, बलिदान र पहिचानमाथिको प्रहार हो।”
फतुवा विजयपुरमा सहभागीहरूले ‘संविधानको रक्षा गरौं’, ‘लोकतन्त्र बचाऔं’, ‘विदेशी हस्तक्षेप बन्द गर’ जस्ता नारासहित बजार परिक्रमा गरे। कार्यक्रममा कांग्रेसका निवर्तमान नगर प्रमुख गोपाल राय यादवले पनि संवैधानिक सीमाभित्रै रही समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै विदेशी हस्तक्षेप र सैन्य प्रवृत्तिको स्पष्ट विरोध गरे।