
जनकपुरधामसहित प्राचीन मिथिला क्षेत्रमा आजदेखि जितिया पर्व विधिवत शुरु भएको छ ।
आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै छन् । यो पर्व हिन्दू मैथिल परम्पराको हो ।

प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) को अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व भोलि आइतबार हो । व्रतअघिको रात ‘ओगटन’ खाने चलन छ । ‘ओगटन’ मा दही र चिउरा र मिष्टान्न परिकारसहितका सात्विक भोजन गरिन्छ ।
पर्वमा चोखा नयाँ वस्त्र परिधान लगाइने हुँदा र ‘ओगटन’ का सामग्री जुटाउन मिथिलानीको व्यस्तता छ । मिथिलामा विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थव्रतको टुङ्गो गरिने परम्परा छ ।
यसअनुसार यसपालिको जितिया समापन सोमबार बिहान ७ बजे हुने बताइएको छ । जितिया व्रत सन्तानको सुख, समृद्धि र सौर्यवृद्धिको कामनासहित आमाहरूले गर्ने पर्व हो ।
मिथिला क्षेत्रका सबै जातजाति समुदायमा यो पर्व परम्परा भए पनि मिथिलानी र थारुहरू यसलाई विशेष महत्वका साथ मनाउँछन् ।