मुख्यमन्त्री सतीशकुमार सिंहको हठवादिताले मधेश प्रदेशको राजनीतिक निकासदेखि अन्य संयन्त्रहरुको संचालन एवं व्यवस्थापनमा जटिलता उत्पन्न भएको छ । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थनसहित सरकारबाट फिर्ता भएको जनाउँदै मुख्यमन्त्री सिंहलाई राजीनामा दिन दबाब दिए पनि उनले राजीनामा दिनमा आनाकानी गरिरहेका छन् ।
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहले पार्टीको निर्णय विपरीत राजीनामा नदिएपछि आइतबार पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश प्रमुखको कार्यालय र सो कार्यालयका निमित्त सचिव शत्रुधन यादवलाई समेत ह्वाट्स एवं इमेलको माध्यमबाट सरकारबाट मुख्यमन्त्री तथा मन्त्रीसमेतलाई फिर्ता बोलाएको भन्दै पत्राचार गरेका थिए ।
सो पत्राचारसहित सार्वजनिक भएपछि मुख्यमन्त्री सिंहले संसदीय दलका नेता यादवलाई सोमबार राजीनामा दिने भनेर वचन दिएको बताइएका थिए । तर अन्तिमसमयसम्म पनि उनले राजीनामा नदिएको भन्दै सत्तागठबन्धन दलका एक नेताले चिन्ता व्यक्त गरे । मधेश प्रदेशमा मुख्यमन्त्री सिंहले एकपटक राजीनामा दिएर अर्को पटक सामाजिक सञ्जालमार्फत आफूले राजीनामा नदिएकाले आफू नै मुख्यमन्त्री रहेको दाबी गरेपछि अहिले मधेश प्रदेश सरकार छ कि छैन भन्नेबारे अझै पनि अन्योल कायमै रहेको छ ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमतले आफ्नो मुख्यमन्त्री तथा मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि मधशे प्रदेश झनै सरकारविहीन बनेको छ । जनमतले आफ्नो दललाई प्रदेश सरकारबाट फिर्ता बोलाएको दुई दिन नबित्दै प्रदेशमा सरकार निर्माणबारे अहिलेसम्म कुनै प्रक्रिया थालिएको छैन । जबकी सोमबार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने चर्चापरिचर्चा चलेको थियो ।
यद्यपि मुख्यमन्त्री सिंहले लिखित रूपमा प्रदेश प्रमुखको कार्यालयमा राजीनामा नबुझाएका कारण नयाँ सरकार निर्माणमा अन्योल बढेको जनाइएको छ । प्रदेश सभामा सहभागी दलहरू मुख्यमन्त्रीको औपचारिक राजीनामा प्रतीक्षामा छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का एक कर्मचारीका अनुसार जेन– जी आन्दोलनको क्रममा एकाबिहानै मुख्यमन्त्री सिंहले मधेश प्रदेशका मधेश प्रहरी प्रमुख, सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख, राष्ट्रिय अनुसन्धानका मधेश प्रदेशका प्रमुख, नेपाली सेनासहितसंग मधेश प्रदेश सुरक्षा समितिको बैठक गरेका थिए ।
उक्त बैठकमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा थ्रेट उच्च रहेकाले सम्हाल्न नसक्ने भन्दै जानकारी दिएपछि मुख्यमन्त्री सिंह अत्तालिएर हठात मनस्थितिमा राजीनामा दिन पुगेको उनी निकट एक नेताले जानकारी दिए । जेन– जी आन्दोलनकै क्रममा अर्कोतर्फ जनमतका अध्यक्ष डा. सीके राउतलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै आन्दोलनमा समर्थन जनाउँदै सामाजिक सञ्जालमार्फत राउतका अनेकन पोस्टहरु उनका कार्यकर्ताहरुले गरिरहेका थिए ।
त्यसैले पनि मुख्यमन्त्री सिंहले जेन– जी आन्दोलनलाई समर्थन गर्दै अध्यक्ष राउतको माहोल बनाउनका लागि सामाजिक सञ्जालको माध्यमबाट राजीनामा दिएको स्रोतको भनाइ छ । अर्कोतर्फ सामाजिक सञ्जालमा अब देशको नेतृत्वको जिम्मा अध्यक्ष राउतलाई नै दिनुपर्छ भनेर निरन्तर रुपमा उनका कार्यकर्ताहरुले टिकटकमासमेत पोस्टहरू गरिरहेका थिए ।
जेन–जी आन्दोलनकारीको समर्थनमा प्रदेश सरकारबाट अलग हुँदा संघीय सरकारमा प्रधानमन्त्री बन्ने आशमा अध्यक्ष राउतले मुख्यमन्त्री सिंहलाई बलि बनाएको बताइन्छ । उनले सत्तागठबन्धन दललाई राजीनामाबारे जानकारी नै नदिइ गुपचुपमा रुपमा नेपाल छाडेर भारतमा आश्रय लिन पुगेका थिए । भारतमै रहँदा जेन–जी आन्दोलन सफल भएपछि उनी नेपाल फर्केर पुनः सामाजिक सञ्जालमा आफू नै मुख्यमन्त्री रहेको दाबी गरे ।
आन्दोलनकारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनी गरेपछि अहिलेसम्म मुख्यमन्त्री सिंहले स्थलगत अवलोकनसमेत गरेका छैनन् ।



