सञ्जय मिश्रा, रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाटको पछाडि निलम्बित लेखा अधिकृत नवीन यादवलाई जोगाउने षड्यन्त्र रहेको खुलेको छ। प्रमुख जिल्ला अधिकारी (सिडियो) विनोद कुमार खडकाको नेतृत्वमा गरिएको स्थलगत अनुगमनका क्रममा स्थानीय बासिन्दाले घटनाबारे प्रत्यक्ष खुलासा गरेका हुन्।
प्रत्यक्ष संलग्नता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका निलम्बित लेखा अधिकृत यादवलाई बचाउन नेपाली कांग्रेसबाट निर्वाचित वडा ८ का अध्यक्ष नितेश चौधरी, वडा ९ का अध्यक्ष राकेश यादव (पप्पु) र मावि दुधिअवाका शिक्षक रविन्द्र यादव प्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाण बाहिर आएको छ। स्थानीयका अनुसार, उनीहरूले जनतालाई उचालेर नगरपालिका कार्यालय, स्वास्थ्य शाखा , शिक्षा शाखा र मेयर बस्ने कोठासम्ममा तोडफोड ,आगजनी तथा लुटपाट गरेका थिए।
योजनाबद्ध उचाल
गत २४ गते निलम्बित लेखा अधिकृत यादवले दुई वडा अध्यक्ष र आफ्ना समर्थकलाई विद्यालयमै भेला गरी मासु–रक्सी खुवाएर करिब १५ हजार रुपैयाँ खर्च गरेको खुलासा भएको छ। सोही दिन दुबै वडा अध्यक्ष सहित उनीहरू “जेन जी“ आन्दोलनको आवरणमा सडकमा नारा जुलुस निकाल्दै बेलुकी नगरपालिका कार्यालयमा भीड जम्मा गरेर आगजनी र लुटपाटमा उत्रिएका थिए।
नगरपालिका घरधनी शम्भु जैसवालका अनुसार, आफूले आगो निभाउन खोज्दा वडा अध्यक्षहरूले धम्कीसमेत दिएका थिए– “देश जलिरहेको छ, धेरै कुरा नगर्नुस्, नत्र तपाईंलाई पनि यही आगोमा फालिन्छ।”
त्यस्तै मेयरलाई कोठा भाडामा दिएका रामेश्वर साहका अनुसार वडा अध्यक्ष सहितको टोली आफ्नो घरसमेत जलाउने तयारी गरेको थियो तर आफूले १५ बर्ष बिदेश बसेर कमाएको पैसाले घर बनाएको छु, आन्दोलनको नाउँमा जलाउन दिन्न भनी हारगुहार गरेपछि बजारबासी समेतको सम्झाइबुझाइले मात्र रोकिएका थिए। तर मेरो घरको झ्याल ढोका बिजुली पानीको लाई सबै तोडफोड गरी मेयर बस्ने कोठामा रहेका दराज, टेबल, सोफा लगायत सामग्री लुटपाट तथा आगजनीमा गरेको उनले बताएका थिए।
भ्रष्टाचार ढाकछोप गर्ने प्रयत्न
फतुवा बिजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव र लेखा अधिकृत नवीन यादव करिब एक वर्षअघि अख्तियारले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै निलम्बित गराएका थिए। त्यतिमात्र नभई केही जनप्रतिनिधि संग मिलेर उनीहरू एउटै कामको तीनपटक भुक्तानी दिएको मुद्दा समेत अख्तियारमा दर्ता भएको छ, जसको बिगो झण्डै अढाई करोड रुपैयाँ रहेको एकजना नगर कार्यपालिका सदस्यले बताएका छन्।
हालका प्रमुख प्रशासकीय अधिकृत भरत यादवले उक्त फाइलहरू अख्तियारमा पठाउन थालेपछि भ्रष्ट अधिकारीहरू प्रमाण नष्ट गर्न उतावला बनेको स्थानीय कार्यपालिका सदस्यको दाबी छ। निलम्बित लेखा अधिकृत नवीन यादव एकबर्षको समय बित्दापनी नगरपालिका संग हालसम्म बुझ बुझारथ नगरेको प्रमुख प्रशासकिय अधिकृत भरत यादवले जनकपुर टुडेलाई जानकारी दिएका छन्।
करोडौंको क्षति
आगो र तोडफोडले नगरपालिका कार्यालय, स्वास्थ्य शाखा र मेयर बस्ने कोठामा रहेको करोडौं मूल्य बराबरको सम्पत्ति नष्ट भएको छ। फाइल, कागजातदेखि विद्युत् उपकरण र कार्यालय सामग्री जलेका वा लुटिएका छन्। प्रमुख प्रशासकीय अधिकृत भरत यादवका अनुसार आगजनी तथा लुटपाटबाट ३ करोड ५० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षती यस भन्दा बढी पनी हुनसक्छ। तर आगजनी र लुटपाट ले कार्यालय र शाखाहरुमा कुनै फर्नीचर, भौतिक सामग्री, कागजात केही पनि छैन ताथाती सोही ठाउँमा तत्काल कार्यालय सञ्चालन गर्ने अवस्था नरहेको अधिकृत यादवले बताएका छन् ।
सरकारको निर्देशन अनुसार तत्काल नगरपालिकाको कामकाज सञ्चालन गर्न फतुवा स्थित वडा स्वास्थ कार्यालय भवन उपयुक्त देखिएको छ।
अनुगमन टोली
स्थलगत अनुगमनमा सिडियो बिनोद कुमार खड्का, नेपाल प्रहरीका एसपी नेत्रमणि गिरी, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी, अनुसन्धानका एसपी कुमार बुढाथोकी, नेपाली सेनाका कर्णेल विश्वास विष्ट, कार्यवाहक मेयर अम्बेया खातुन, दलका नेतागण, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो।
फतुवा बिजयपुरको घटना साधारण विरोध प्रदर्शन नभई योजनाबद्ध आपराधिक गतिविधि भएको स्पष्ट देखिन्छ। निर्वाचित वडा अध्यक्षहरूले नै भ्रष्टाचार आरोपमा मुछिएका अधिकृतलाई जोगाउन जनतालाई उचाल्नु लोकतान्त्रिक मूल्य र जनप्रतिनिधिमाथिको विश्वासमाथिको गम्भीर प्रहार हो।
२०७९ सालमा फतुवा बिजयपुर नगरपालिकामा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट मेयर, उपमेयर सहित ११ मध्ये ७ जना वडा अध्यक्ष निर्वाचित भएका थिए ।



