२०८२ आश्विन १, बुधबार ०७:३१

जनकपुर बमकाण्ड प्रकरणका मुख्य अभियुक्त संजय कुमार साह टकला ललितपुरस्थित नख्खु कारागारमा केही दिनदेखि आमरण अनसनमा बसेका छन् । मुख्य अभियुक्त साहले आफूलाई जनकपुर बम काण्डमा जवर्जस्ती फसाएर झुटो मुद्दा लगाइ फसाइएको भन्दै उनले आफ्नो पोलिग्राफी वा नार्गो परीक्षण गर्न तथा आफूमाथि लगाइएको आरोप गलत रहेकाले तत्काल छानबिन गर्न सरकारसंग माग गर्दै आमरण अनसनमा बसेका छन् ।

भदौँ २४ र २५ गते भएको जेन– जी आन्दोलनको क्रममा पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारबाट खुलेआम फरार भएपछि सोको प्रभाव देशव्यापी रुपमै परेको थियो । सोही क्रममा नख्खु कारागारमा रहेका जनकपुर बम काण्ड प्रकरणमा सजाय पाइरहेका मुख्य अभियुक्तसमेत रहेका पूर्वराज्यमन्त्री साहसमेत फरार भइ जनकपुरधामस्थित निजी निवासमा आएका थिए । तर उनीमाथि सुरक्षानिकायले कडा निगरानी गर्न थालेपछि त्यसको केही दिनपछि पक्राउ गरी पुनः नख्खु कारागारमा लगिएको थियो ।

त्यस अघि उनी जनकपुरधामस्थित निवासमा आएपछि सबैभन्दा पहिला जानकी मन्दिरको दर्शनसहित समर्थकसहितको जुलुस प्रदर्शन गरी जनकपुरधाम नगर परिक्रमा गर्ने योजना रहे पनि सुरक्षानिकाय कडा निगरानीका कारण सफल हुन सकेन । त्यसको अर्को दिन बिहान साह गोप्य रुपमा जानकी मन्दिर दर्शन गर्ने योजना बुनेका थिए । तर सो पनि विफल भएपछि उनी नख्खु कारागार फर्किने मनस्थिति बनाए ।

मुख्य अभियुक्त साहलाई सुरक्षानियकाले तत्काल कारागारमा सम्पर्क गरी जान निर्देशन दिएपछि उनी त्यसको अर्को दिन नै नख्खु कारागार जाँदै गर्दा उनलाई काभ्रेबाट प्रहरीले बीच बाटोबाट नै नियन्त्रणमा लिइ मिडियामा पक्राउ गरेको भन्ने खबर फैलाइएको थियो । सो खबर फैलिएपछि उनी रुष्ट बनेका छन् भने उनका समर्थकहरु पनि असन्तुष्टि जनाउन थालेका छन् । सो खबर फैलिएपछि मुख्य अभियुक्त साह भने नख्खु कारागारमै आमरण अनसनमा बसेका छन् ।

आफूविरुद्ध सुरक्षानिकायले अफवाह फैलाएको भन्दै उनका समर्थकहरु पूर्वराज्यमन्त्री साह आफैँ कारागारका लागि गइरहँदा उनलाई बाटोमै प्रहरीले नियन्त्रणमा लिएको भनि गलत अफवाह फैलाइएको र पक्राउ गरेको भनि सुरक्षानिकायले भ्रामक रुपमा प्रचारवाजी गर्नु दुःखद रहेको बताउँछन् ।

प्रहरीले साहलाई जनकपुरधामबाट पक्राउ गरेर नख्खु कारागार ल्याइएको भन्ने हल्ला फैलिएको भन्दै करिब छ दिनदेखि उनी कारागारमै अनसनमा बसेका छन् । उनले आफूमाथि लगाइएको मुद्दा बारेमा तत्काल छानबिन गर्नुपर्ने भन्दै आमरण अनसनमा थालेका छन् । जनकपुरधामबाट काठमाण्डु फर्किँदै गर्दा साहलाई प्रहरी चेकिङको क्रममा काभ्रेबाट पक्राउ गरिएको थियो ।

साह जनकपुरधाममा आएपछि उनले आफू निर्दोष रहेको र अबको दुई महिनाभित्र कारागारबाट रिहा हुने भन्दै आफूलाई जुनसुकै बेला सुरक्षाको प्रत्याभूति दिलाएमा कारागार जान तम्तयार रहेको आफन्तजन तथा समर्थकहरु बीच भलाकुसारी गरेका थिए । उनी १२ वर्ष देखि कारागारमा छन् । यसबीचमा उनलाई केही वर्षदेखि सिरहास्थित कारागारमा पनि लामो समयसम्म राखिएको थियो ।

अदालतले उनलाई जन्मकैदको फैसला गरेको छ । २०६९ वैशाख १८ मा जनकपुरधामस्थित रामानन्द चोकमा ५ जनाको ज्यान जानेगरी भएका बम विष्फोटको घटनामा उनी मुख्य अभियुक्त हुन् ।

Comment


Related News

Latest News

Trending News