जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतीशकुमार सिंहलाई राजीनामा दिन निर्देशन दिए पनि अहिलेसम्म अटेर गरेको भन्दै पार्टीले सरकारबाट नै समर्थन फिर्ता लिएको छ ।
पार्टीको निर्देशनअनुसार मुख्यमन्त्री सिंहले राजीनामा दिन ढिलाइ गरिराख्दा प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले समर्थन फिर्ता लिइसकेको पत्र प्रदेशसभामा दर्ता गराएका छन् । जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता यादवले प्रदेशसभालाई लेखेको पत्रमा भनिएको छ, ‘हाम्रो दल जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्तासहित मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाइएको जानकारी मधेश प्रदेश प्रमुखको कार्यालयलाई भदौँ २८ गते नै गराइसकेको सो को जानकार ीसहित सदनमा हाम्रो दलको सोही अनुसार व्यवस्थापनका लागि अनुरोध गर्दछौँ ।’ जेन– जी आन्दोलनमा सरकारले दमन गरेपछि जनमतले कांग्रेस–एमाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको थियो ।
यता मुख्यमन्त्री सिंहलाई संसदीय दलका नेता यादवले पदसहित फिर्ता बोलाएको र सभामा सोही अनुसारको व्यवस्थापनका लागि समेत जानकारी सभामुख रामचन्द्र मण्डललाई गराएको सम्बन्धमा प्रेस सल्लाहकार अवधेश झाले सोबारे अनभिज्ञता प्रकट गरे ।


