
पर्साको सेढवास्थित इलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक (प्रनानि) अर्जुनकुमार साह माथि १५ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ । भारतीय कुखुरा सहित मोटरसाइकल समाते र मोटरसाइकल छाडेको आरोपमा नायब निरिक्षक सहित ६ जनाको टोलीलाई जिल्ला प्रहरी कार्यालय, पर्साले जिल्लामा तानेको छ ।
भारतीय कुखुरा पक्राउगरि मोटरसाइकल तस्करलाई बुझाएको खुलासा भएपनि जिल्ला प्रहरी कार्यालय पर्साले कार्यवाहि अगाडि बढाएको छ । आइतबार (भदौँ २९ गते) सेढवामा कार्यरत प्रहरी टोलीले जिराभवानी गाउँपालिका–१ स्थित महादेवपट्टी नजिकैबाट दुईवटा मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको ६० थान भारतीय कुखुरा बरामद गरेको थियो ।

बरामद गरिएको कुखुरा नस्ट गरे पनि भारतीय नम्बरको टीभीएस र पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो । बरामद गरिएका कुखुरा स्थानीय जनप्रतिनिधि, पर्सा कुखुरा व्यवसायी संघका पदाधिकारी र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिए पनि दुवै मोटरसाइकल तस्करलाई फिर्ता गरेको आरोप प्रहरी माथि लागेपछि जिल्लाले मातहतका पहरीहरु माथि अनुशन्धान शुरु गरेको बताइन्छ ।
पर्सा कुखुरा व्यवसायी संघका सचिव गम्भिरा गुप्ताले इलाका प्रहरी प्रमुख प्रनानि साहले सुरुवातमा मोटरसाइकल भन्सार कार्यालय वीरगञ्ज पठाउने प्रक्रिया अघि बढाएको र त्यसअनुसार मुचुल्का तयार समेत गरेको दाबी गरे । तर पछि १५ हजार रुपैयाँको लेनदेनमार्फत व्यापारीलाई नै मोटरसाइकल बुझाइएकाले आफूहरू असन्तुष्ट रहेको उनले प्रस्ट पारे ।
यस विषयमा प्रतिक्रिया दिँदै प्रनानि अर्जुनकुमार साहले भने, “मैले माथिबाट प्राप्त आदेशअनुसार मात्र काम गरेको हुँ ।” तर आदेश कसको थियो भन्नेबारे उनले खुलाउन मानेनन् ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले आफूलाई घटनाबारे प्रत्यक्ष जानकारी नभएको बताए। तर सार्वजनिक रूपमा उठेका आरोप गम्भीर भएकाले तत्काल छानबिन शुरु हुने उनको भनाइ छ । “यदि कुनै प्रहरी सदस्य गैरकानुनी क्रियाकलापमा संलग्न भएको प्रमाणित भयो भने कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिन्छ,” एसपी मिश्राले चेतावनी दिए ।
विवाद चर्किएपछि सेढवास्थित इलाका प्रहरी कार्यालयमा तत्कालै फेरबदल गरिएको छ। प्रनानि साहको स्थानमा अब प्रनानि मोहन यादवको नेतृत्वमा नयाँ ६ जनाको टोली खटाइएको पर्सा प्रहरीले जानकारी दिएको छ । सो घटनाले सीमा क्षेत्रमा भइरहेको अवैध भारतीय कुखुरा तस्करी, प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न र पारदर्शीताको आवश्यकतालाई पुनः चर्चामा ल्याइदिएको छ ।