अपडेट 
२०७७ बैशाख १६, मंगलवार ०९:३१

काठमाडौं। विश्वभरि कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या ३० लाख नाघेको छ । २४ घण्टामा ६७ हजार थपिएसँगै संक्रमितको कुल संख्या ३० लाख नाघेको हो ।

२१० देशमा फैलिएको कोरोनाका संक्रमित सबैभन्दा बढी अमेरिकामा छन् । त्यहाँ मंगलबार बिहानको तथ्याङ्क हेर्ने हो भने संक्रमितको संख्या १० लाख ९ हजार पुगेको छ ।

त्यस्तै, स्पेनमा २ लाख २९ हजार, इटालीमा १ लाख ९९ हजार, फ्रान्समा १ लाख ६५ हजार, जर्मनीमा १ लाख ५८ हजार, बेलायतमा १ लाख ५७ हजार, टर्कीमा १ लाख १२ हजार व्यक्ति कोरोनाबाट प्रभावित भइसकेका छन् । बाँकी देशमा भने संक्रमितको संख्या १ लाख भन्दा कम रहेको छ ।

यसैगरी अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ५६ हजार ७९६ को ज्यान गइसकेको छ । त्यहाँ सोमबार मात्र त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ३८३ को ज्यान गएको छ । यो अघिल्लो एक दिनको तुलनामा भने केही बढी हो । आइतबार त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ रहेको थियो । तर शनिबार भने एकै दिन मात्र २ हजार ६५ को मृत्यु भएको थियो ।

यसैगरी अमेरिकामा १ लाख ३८ हजार ९८९ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । ८ लाख १४ हजारभन्दा बढी संक्रमित उपचाररत रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ हजार ६२३ पुगेको छ । सोमबार मात्र त्यहाँ ३४८ को मृत्यु भएको छ, यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । आइतबार त्यहाँ ३६७ को मृत्यु भएको थियो भने शनिबार ६१७ को मृत्यु भयो ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा नयाँ संक्रमित थपिएका छैनन् ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वभर ९ लाख १९ हजार निको हुँदा २ लाख ११ हजार संक्रमितले ज्यान गुमाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News