पूर्वजनमत पार्टीका नेताहरु युथ फर नेशन अभियान थालेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको राजीनामा माग गर्दै पार्टी छोडेका ६ जना नेताहरूले अब ‘युथ फर नेशन’ नामक अभियान थालेका छन् ।
जनमतका अध्यक्ष राउतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले असोज २ गते साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका थिए । पार्टी छोड्नेमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका संजय कुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन् ।
अभियानको उद्देश्यबारे जानकारी दिँदै डा. शरदसिंह यादवले जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै युवाहरूलाई जोड्ने बताए। उनले भने, ‘हामी अब युवाहरूको कुरा सुन्न देशभर जान्छौं ।’ उनले तत्कालै नयाँ राजनीतिक दल खोल्ने योजना नरहेको तर युवा केन्द्रित बहश चलाइने बताए । उनीहरुले अध्यक्ष राउत र उनका दाजु जयकान्त राउतको कार्यशैलीप्रति प्रश्न उठाउँदै तत्काल राजीनामा माग गरेका थिए ।


