२०८२ आश्विन ७, मंगलवार ०७:०७

जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन, परिमार्जन वा पुनर्लेखन नगरी उठाएका जेन– जीको माग र मुद्दालाई सम्बोधन गर्न असम्भव रहेको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव लालबाबु राउतले असंवैधानिक, अतिवादी र गैर–लोकतान्त्रिक क्रियाकलाप तथा संघीयता र गणतन्त्र विरोधी षड्यन्त्रबाट सतर्क रहन आग्रह गरेका छन् । पार्टीको विधान विपरीत क्रियाकलाप गर्ने र पार्टी आचार संहिता उल्लंघन गर्ने जोसुकैलाई पनि पार्टीले कारबाही गर्ने चेतावनी समेत उनले दिए ।



केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, संवैधानिक अंगहरू, प्रादेशिक संरचना, पहिचान, समावेशिता र सामाजिक न्यायसँग सम्बन्धित मुद्दाहरूलाई समाधान गर्न संविधान संशोधन वा पुनर्लेखन आवश्यक हुने निर्णय गरेको छ ।

महासचिव राउतका अनुसार प्रतिनिधि सभालाई कायम राखिनु आवश्यक थियो र हालको प्रतिनिधि सभाको विघटन संविधान अनुसार भएको देखिँदैन । यस अवस्थामा गरिने निर्वाचनले परिवर्तनकारी शक्तिहरूले उठाएका मुद्दाहरू पूर्णरूपमा समाधान गर्न सक्दैन । तर, नयाँ प्रतिनिधि सभाले स्थायी स्थान ओगट्दा मुलुक पुनः यथास्थितिमा फर्कने र प्रतिगमनकारी शक्तिहरू परास्त हुने अपेक्षा गरिएको छ ।

भदौँ २३–२४ गतेको हिंसात्मक आन्दोलनका क्रममा भएका हत्या, कुटपिट, तोडफोड, लुटपाट र आगजनी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न जसपा नेपालले माग गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमा नलेख्न नेता तथा कार्यकर्तालाई चेतावनी दिइएको छ ।

त्यस्तै उनले पार्टीको शुद्धीकरण, सुदृढीकरण र अनुशासन सम्बन्धी बताए । मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका महासचिव राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा हाम्रो पार्टीविरुद्ध आन्तरिक र बाह्य दुबै तर्फबाट व्यापक षड्यन्त्र, चलखेल, आक्रमण र विखण्डन गराएका छन्, भएका छन् ।

विगतको घटनाक्रमलाई मूल्यांकन गरी भविष्यमा हुन सक्ने यस्ता षड्यन्त्र, चलखेल र दुर्घटनाबाट पार्टीलाई जोगाउन पार्टीका सम्पूर्ण सदस्यहरूले पार्टी र अध्यक्षविरुद्धको क्रियाकलापहरू प्रति सचेत र चनाखो रहनुपर्दछ ।’ पार्टीको नीति, सिद्धान्त, निर्णय र विधान तथा कार्य पद्धति विपरीत कार्य गर्ने, पार्टी एकतालाई कमजोर पार्ने र गुटबन्दी गर्ने, नेतृत्व विरुद्ध भ्रम सिर्जना गर्ने, सामाजिक सञ्जालहरू फेसबुक, ट् िवटर, इन्ष्टाग्राम आदिलाई दुरुपयोग गरी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।

पार्टीविरुद्ध रहेका व्यक्ति वा शक्तिसँग साँठगाँठ गरी पार्टीलाई कमजोर पार्ने, पार्टीविरुद्ध षड्यन्त्र गर्ने, व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि मात्र कार्य गर्ने, पार्टीभित्र अनावश्यक द्वन्द सिर्जना गर्ने जस्ता गैर–राजनीतिक चरित्र र प्रवृत्तिबाट पार्टीलाई जोगाउँदै पार्टीको क्रान्तिकारी सिद्धान्त एवं कार्य पद्धति र सङ्गठनात्मक शक्तिलाई रक्षा गर्ने र असमाजिक प्रवृत्ति, चरित्र र क्रियाकलाप तथा पार्टीलाई कुनै प्रकारले हानी नोक्सान पुर्याउने खालका पार्टी भित्र वा बाहिरका प्रवृत्ति विरुद्ध सदैव चनाखो हुनुपर्ने उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News