२०८२ आश्विन ७, मंगलवार ०७:२५

विगत वर्ष झैँ यस वर्ष पनि दशमीमा जनकपुरधामलाई भव्य रुपमा सिंगारिएको छ । जनकपुरधामको राजदेवी मन्दिर, बौधीमाई, सोनासति माई, दुर्गा मन्दिर, पिडरियामाई, दक्षिण काली माईलगायतका मन्दिर र विद्यापति मुरली सर चोक, रामानन्द चोक, जिरोमाइलस्थित भ्रमरपुरा चोकस्थित माटोको मुर्ति बनाएर भव्यतापूर्वक पूजा आराधनाका लागि रंगीन बत्ती, फूल र तोरणले सिंगारिएको छ ।

मन्दिरहरुमा सोमबार बिहानै देखि स्थानीयवासी र दर्शनार्थीहरूको भीड लाग्न थालेको छ । बिहानै देखि मन्दिर परिसरहरुमा पूजाआर्चनाका कार्यक्रमहरू शुरु भएको छ । दशमी शुरु भएसंगै परिवारका सदस्यहरू नयाँ लुगा, मिठाई र पूजाको सामान किनमेलमा व्यस्त देखिन्छन्। बजारमा भीड बढेसँगै व्यापारीहरूको व्यापार पनि फस्टाएको छ ।

दशमीमा देवीको पूजा– अर्चना, दुर्गा भवानीको स्तुति र धार्मिक कर्मकाण्डमा सहभागी भइ श्रद्धालुहरूले आशीर्वाद लिने परम्परा रहिआएको छ । दशमीमा जनकपुरधामको मुख्य आकर्षणको केन्द्र राजदेवी मन्दिर परिसर रहने गरेको छ । यस मन्दिरमा प्रत्येक वर्ष पनि विशेष पूजा अर्चनाको विविध रुपमा आयोजना गरिएको छ, जसमा हजारौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ ।

त्यस्तै जनकपुरधामका प्रमुख सडक र चोकहरूमा पनि आकर्षकिय ढंगले सिंगारिएका छन् । साँझपख झिलिमिली बत्तीले सजिएपछि शहरलाई ‘मधेशको सांस्कृतिक राजधानी’ भन्ने उपाधि झनै सजीव बनेको देखिन्छ । मठमन्दिरहरूमा दैनिक भजन–कीर्तनको गुञ्जन सुनिन्छ भने पूजा–आरतीमा सहभागी हुन स्थानीयवासीदेखि बाहिरका श्रद्धालुहरूको भीड लाग्ने गरेको छ ।

विशेष गरी राजदेवी मन्दिरमा भक्तहरूको भीड बढ्दो छ । जनकपुरधाम बजारमा समेत चहलपहल बढेको छ । कपडा, जुत्ता–चप्पल, पूजाका सामग्री, सजावटी सामान र मिठाइ पसलहरूमा ग्राहकहरूको भीड देखिन्छ । व्यापारीहरूले यस वर्ष गत वर्षको तुलनामा बिक्री– व्यापारमा उत्साहजनक वृद्धि हुने अपेक्षा राखेका छन् ।

यता, चाडपर्वमा हुने भीड व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले संयुक्त सुरक्षा रणनीति तयार पारेका छन् । प्रमुख चोक र मन्दिर परिसरमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, मेलामा स्वास्थ्य शिविर सञ्चालन र आपतकालीन सेवाहरू सजग राख्ने तयारी गरिएको छ ।

Comment


Related News

Latest News

Trending News