अपडेट 
२०७७ बैशाख १६, मंगलवार १३:२५

काठमाडौं। सरकारले नेपाली सेनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, उपचार र नियन्त्रणको लागि अत्यावश्यक मेडिकल सामाग्री खरिद गरी ल्याउने जिम्मेवारी दिएको महिना दिन बित्दा पनि ती सामाग्री सेनाले ल्याउन सकेको छैन ।

खरिद प्रक्रियालाई पारदर्शी बनाउँदा मेडिकल सामाग्री ल्याउन समय बढी लागेको नेपाली सेनाले बताएको छ । गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ‘जीटुजी’ प्रक्रियाद्वारा मेडिकल सामाग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो ।सेनाले चीनको ग्वान्जाओबाट नेपालसम्म मेडिकल सामाग्री ल्याउन एक एजेन्टलाई आइतबार छनौट गरेको थियो । सोमबार दिउसो ४ बजेसम्म उक्त एजेन्टकविरुद्ध उजुरी गर्ने समय दिइएको थियो ।

‘चिनियाँ कम्पनी सामान लिन आइज भनिरहेको छ । हामी सामान ल्याउने एजेन्टको वरिपरि घुमिरहेका छौं । नियम, पारदर्शीता सबै फलो गर्दा समय लागिहाल्छ,’ नेपाली सेनाका प्रवक्ता तथा सहायक रथि विज्ञानदेव पाण्डेले नेपालन्युजसँग भने ।

सरकारले सेनालाई कोरोना भाइरस संक्रमण रोकथाम, उपचार र नियन्त्रणको लागि अत्यावश्यक मेडिकल सामाग्री खरिदको जिम्मेवारी दिदाको दिन (चैत १६ गते)सम्म नेपालमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो, जसमध्ये एक जना उपचारपछि निको भई घर फर्किसकेका थिए ।

सरकारले सेनालाई मेडिकल सामाग्री खदिरको जिम्मेवारी दिएको मंगलबार एक महिना पूरा भइसकेको छ । मंगलबार दिउसोसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ, जसमध्ये १६ जना उपचारपछि निको भई घर फर्किसकेका छन् । सेनालाई जिम्मोवारी दिएपछि थप ४७ जना कोरोना संक्रमित थपिएका छन्, तर कोरोना भाइरस संक्रमितको लागि अत्यावश्यक मेडिकल सामाग्री भने अझै आइपुगेको छैन ।

सेनाले चीनको ग्वान्जाओबाट नेपालसम्म मेडिकल सामाग्री ल्याउन एक एजेन्टलाई आइतबार छनौट गरेको थियो । सोमबार दिउसो ४ बजेसम्म उक्त एजेन्टकविरुद्ध उजुरी गर्ने समय दिइएको थियो । उक्त एजेन्टको ‘लेटर अफ एसेप्टेन्स’ मंगलबार रक्षा मन्त्रालयमा सेनाले पठाएको छ । रक्षाले त्यसलाई स्वीकृत गरी आवश्यक बजेट निकास गरिदिन भन्दै मंगलबार नै अर्थ मन्त्रालयलाई पत्र पठाउने सैनिक प्रवक्ता पाण्डेले बताए ।

‘अर्थले बजेट स्वीकृत गरेपछि उक्त एजेन्टसँग सम्झौतामा हस्ताक्षर गरिन्छ । सम्झौता भएपछि मात्र एजेन्ट ग्वान्जाओबाट मेडिकल सामाग्री ल्याउनतर्फ लाग्छ,’ सैनिक प्रवक्ता पाण्डेले भने, ‘मेडिकल सामाग्री ग्वान्जाओबाट अब कति दिनमा काठमाडौं आइपुग्छ त्यो अब एजेन्टले भन्छ । चिनियाँ नयाँ नियमअनुसार भन्सार पार गर्न तीन दिन लाग्छ ।’

३ सय ४१ टन मेडिकल सामाग्री चीनबाट ल्याइने
नेपाली सेनाले कोरोना भाइरस संक्रमणको उपचार, नियन्त्रण तथा रोकथामको लागि चीनबाट ३ सय ४१ टन मेडिकल सामाग्री ल्याउने सम्झौता गरिसकेको छ ।
कूल १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ७ अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैयाँ) बराबरका मेडिकल सामाग्री चीनबाट खरिद गर्ने सम्झौता वैशाख ७ गते गरिएको थियो ।

चिनियाँ सरकारी स्वामित्वमा रहेको साइनो फार्म इन्टरनेसनल कर्पोरेसनसँग मेडिकल सामाग्री ल्याउने सम्झौता सेनाले गरेको हो । उक्त कम्पनीले नेपालले मागेको ३ सय ४१ टन मेडिकल सामाग्री ग्वान्जाओमा जम्मा गरिदिएको छ ।

पिपिई, एन ९५ मास्क, परीक्षण किट्सलगायतका अत्यावश्यक सामाग्री ग्वान्जाओबाट जहाज चार्टर गरी ल्याइनेछ भने बाँकी सामाग्री सडक मार्गबाट तातोपानी नाकाहुँदै ल्याइएनेछ । यसको लागि नेपाल एयरलायन्सको दुईवटा उडान बुक गरिसकिएको छ ।

‘हामीले नेपाल एयरलायन्सको दुई फ्लाइट बुक गरिदिएका छौं । सामग्री लिन कहिले जाने भन्ने एजेन्टमा भर पर्छ । अत्यावश्यक भएकाले छिटै सामग्री काठमाडौं आइपुग्न विश्वास हाम्रो छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।

ग्वान्जाओबाट ७ दिनमा सडक मार्गबाट सामाग्री तातोपानी आइपुग्ने जनाइएको छ । तातोपानीमा भन्सार क्लियर गर्न ३ दिन लाग्छ । केही तुरुन्त चाहिने अत्यावश्यक सामग्री भने जहाजबाट ल्याइनेछ । एक लटमा नेपाल एयरलायन्सको वाइड बडीले १८ देखि १९ टन बोक्नसक्ने उनले बताए ।कमिसनको खेलमा सरकारले ‘जिटुजी’ मेडिकल सामाग्री खरिद नगरी एजेन्टमार्फत् कमसल र महँगोमा सामग्री खरिद गरेको आरोप लागेपछि केही दिनअघि सरकारले उक्त खरिद सम्झौता रद्द गरेको थियो ।

सेनाले यसरी पाएको थियो मेडिकल सामग्री खरिदको जिम्मा
स्वास्थ्य मन्त्रालयले सुरु गरेको कोरोना भाइरस संक्रमितको उपचार, रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने मेडिकल सामग्री खरिद प्रक्रिया विवादित बनेपछि सरकारले त्यसलाई रद्द गर्दै उक्त जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

स्वास्थ्य मन्त्रालयले ओम्नी इन्टरनेसनलमार्फत् चीनबाट १ करोड ३ लाख ९० हजार ४ सय अमेरिकी डलर (करिब १ अर्ब २४ करोड ६८ लाख रुपैयाँ) बराबरको मेडिकल सामग्री ल्याउन सम्झौता गरेको थियो । सम्झौताअनुसार चीनबाट ल्याइएको मेडिकल सामग्री गुणस्तरहीन र चीनले अनुदानमा उपलब्ध गराएका उही सामग्रीको तुलनामा १८ गुणासम्म बढी महँगो परेपछि खरिद प्रक्रिया विवादमा परेको थियो ।

कमिसनको खेलमा सरकारले ‘जिटुजी’ मेडिकल सामाग्री खरिद नगरी एजेन्टमार्फत् कमसल र महँगोमा सामग्री खरिद गरेको आरोप लागेपछि केही दिनअघि सरकारले उक्त खरिद सम्झौता रद्द गरेको थियो । त्यसपछि मेडिकल सामग्री खरिद गर्ने जिम्मेवारी सरकारले नेपाली सेनालाई चैत १६ गते दिएको थियो ।

जिम्मेवारी पाएपछि सेनाले मेडिकल सामग्री खरिद गर्न सम्बिन्ध देशमा रहेका नेपाली दूतावासमार्फत् चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायल गरी ५ देशका सरकारलाई पत्राचार गरेको थियो । पत्रको जवाफ चीन र भारतले मात्र दिएका थिए । त्यसपछि सेनाले चीन र भारतबाट मेडिकल सामग्री खरिद प्रक्रिया अघि बढाएको हो । चीनबाट मेडिकल सामग्री ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने भारतसँग पनि ठूलो मात्रामा मेडिकल सामग्री खरिद प्रक्रिया सेनाले अघि बढाइरहेको छ ।

Comment


Related News

Latest News

Trending News