
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूलाई इमानदार र क्लीन हुन आग्रह गरेका छन् ।
गुण्डुमा मंगलबार कार्यकर्ताहरूसँगको भेटवार्ताका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले कर्मठ युवाहरू हावामा कुद्ने नभइ आफ्नो र देशप्रतिको कर्तव्य बिर्सन नहुने जिकिर गरे । उनले भने, ‘देश बनाउन हिँडेका कर्मठ युवाहरू हावामा कुद्ने होइन । आफ्नो कर्तव्य के हो ? देशप्रतिको कर्तव्य के हो ? समाजप्रतिको कर्तव्य के हो ? पढाइमा कति ध्यान दिने ? जहाँ पनि हामीले इमानदार हुन सिक्नुपर्छ, क्लिन हुन सिक्नुपर्छ,’ ओलीले भने, ‘नलेज बढाउने, क्यारेक्टर डेभलप गर्नुपर्छ । सामाजिक सञ्जालको डिजिटल प्लेटफर्ममा सहभागी हुने, त्यसको सदूपयोग गरिरहेको छु कि छैन भनेर राम्ररी विचार गर्ने गर्नुपर्छ ।’ जेन– जी प्रदर्शनपछि देश बदनाम अवस्थामा पुगेको भन्दै अत्यन्तै जिम्मेवार र सभ्य बनेर यसबाट उठाउन लाग्नुपर्ने बताएका हुन् । ‘नेपाल एउटा बदनाम अवस्थामा पुगेको छ । त्यसबाट हामीले भन्न सक्नुपर्नेछ, नेपाल इमानदार अवस्थामा छ भनेर । अत्यन्तै जिममेवार र सभ्य मानिसहरूको काँधमा यो कुरा आएको छ,’ उनले भने । उनले जेनजी प्रदर्शनका क्रममा मान्छेहरू योजनाबद्ध रुपमा लागेको देखिएको पनि बताए ।
