२०८२ आश्विन ९, बिहीबार ०७:४४

पर्साको पकहाँ मैनपुर गाउँपालिकाको गाउँपरिषद हुन नसक्दा कर्मचारीलगायतका कसैले पनि तलब भत्ता तथा सेवासुविधा पाउन सकेका छैनन् । पालिकाको कार्यालयमा करार र ज्यालादारीमा कार्यरत ६५ भन्दा बढी कर्मचारीले विगत ६ महिनादेखि तलब पाउन सकेका छैनन् ।

पालिकाका अध्यक्षकै कारण अहिले दशमीमा पनि उनीहरू तलब भत्ता पाउनबाट बञ्चित भएको बताइन्छ । गाउँपालिका अध्यक्ष सुरेश मेहताको अडानका कारण गत असारमै हुनुपर्ने गाउँ परिषद् अहिलेसम्म पनि हुन नसक्दा आफूहरूले गत चैतदेखि तलब भत्ता पाउन नसकेको कर्मचारीहरूले गुनासो गरेका छन् ।



पकहाँमैनपुर गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारले विकास खर्चतर्फ ८ करोड ६५ लाख रुपैयाँ छुट्याए पनि अध्यक्ष मेहताले एकलौटी ढंगले १६ करोडको बजेट सूत्रमा राख्नुपर्ने अडान लिँदै आएकाले परिषदमा ढिलाइ भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले बताए । उनले पालिकामा आएको बजेटभन्दा दोब्बरको योजना बनाउँदा कामको भुक्तानी असम्भव हुने स्पष्ट हुँदा हुँदै पनि अध्यक्ष मेहताले बारम्बार बैठक छाड्ने र सहमति नखोज्ने प्रवृत्तिले समस्या गहिरिएको बताए । उनले करार र ज्यालादारीका कर्मचारीले विगत ६ महिनादेखि तलब नपाउँदा चाडबाडमै आर्थिक संकट झेल्न बाध्य भएको बताए ।

उता पालिकाको वडा नम्बर १ का वडाध्यक्ष विनोद मेहताले पालिका अध्यक्ष मेहताको व्यक्तिगत स्वार्थ र हठकै कारण गाउँपालिकालाई अनिर्णयको बन्दी बनाएर सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई दुःख दिएको आरोप लगाए । उनले संघीय सरकारले छुट् याएको ८ करोड ६५ लाख मध्ये ५ वटा वडाका लागि ८०–८० लाख गरी ४ करोड, गाउँपालिका उपाध्यक्षलाई १ करोड २० लाख र गाउँपालिका अध्यक्षलाई ३ करोड ४५ लाख रुपैयाँ बराबरको योजना दिने सहमति भएको थियो ।

तर गाउँपालिका अध्यक्ष मेहताले त्यसलाई नमान्दै १६ करोड रुपैयाँको योजना शीर्षकमा राख्नुपर्ने दबाब दिँदा गाउँ परिषद् अहिलेसम्म पनि हुन नसकेको बताए । त्यस्तै गाउँ परिषद्समेत लामो समयदेखि नबोलाइएको भन्दै पालिका उपाध्यक्षसहित ५ वटै वडाध्यक्षले लिखित रूपमा परिषद् बोलाउन माग गरेका छन् । तर गाउँपालिका अध्यक्ष मेहताले अहिलेसम्म स्पष्ट मिति नतोकेका कारण गाउँपालिकाका सम्पूर्ण काम नै ठप्प छ ।

Comment


Related News

Latest News

Trending News