
दशमीको समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जनकपुरधाममा सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दशमीमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने भएकोले सुरक्षा चुनौती थपिएको हो । जसकारण सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दशमीलाई सुरक्षित बनाउनका लागि धनुषा प्रहरीले नगरको विभिन्न प्रवेशद्वारमा चेक प्वाइन्ट, गाउँ गाउँमा गस्ती टोलीका साथै सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ ।

चाडबाडको समयमा सुरक्षाका लागि ८ सय ५ नेपाल प्रहरीका साथै ४ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको धनुषा प्रहरीका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । जनकपुरधाममा चाडबाडको समयमा अन्य समयको तुलनामा भीडभाड हुने भएकाले धनुषा प्रहरीले नगरका साथै धनुषाका गाउँ गाउँमा सुरक्षा गस्ती बढाएको छ ।
यसका साथै कुनै त्यस्तो अवाञ्छित क्रियाकलाप देखिएमा धनुषा प्रहरीलाई जानकारी दिन प्रहरी उपरीक्षक रेग्मीले बताए । प्रहरी उपरीक्षक रेग्मीले सहरी क्षेत्रमा ५ मिनेट भित्र पुग्ने तथा ग्रामीण क्षेत्रमा १० मिनेट भित्र पुग्ने गरी तयारी गरिएको बताए ।