
जनकपुरधामस्थित एक निजी अस्पतालले प्रारम्भिक रिपोर्टकै आधारमा हतारिएर शल्यक्रिया गरेको घटना सार्वजनिक भएको छ । जनकपुर न्यूरो हस्पिटलमा अन्तिम रिपोर्ट नआउँदै अति संवेदनशील अंग टाउकोको शल्यक्रिया गरेको घटना बाहिरिएको छ ।
भदौँ २८ गते जनकपुरधाम उपमहानगरपालिका–१ की ५० वर्षीया सोनाबती सादा मोटरसाइकल दुर्घटनामा घाइते भएकी थिइन् । सोही दिन राति सोनाबतीलाई सिटी स्क्यानको अन्तिम रिपोर्ट नै नहेरी न्यूरोका चिकित्सकले (प्रारम्भिक) फिल्म इमेजको अधारमा शल्यक्रिया गरेका थिए ।

शल्यक्रिया गरेको तीन दिनसम्म सोनाबती अचेत रहेपछि परिवारका सदस्यले जनकपुर न्यूरोबाट काठमाण्डुको काठमाण्डु मेडिकल कलेज (केएमसी) बाट घटना बाहिर आएको हो । न्यूरोको चिकित्सकले टाउकोमा जमेको सात एमएम रगत हटाएको दाबी गर्छन् । तर, केएमसीमा पुनःसिटी स्क्यान गरी हेर्दा टाउकोमा अझै साढे सात एमएम रगत रहेको बताएपछि बिरामी पक्ष थप चिन्तामा परेका छन् ।
केएमसीका चिकित्सकले जनकपुर न्यूरोको लापरवाही भएको कारण उपचार गर्न मानेका थिएनन् । त्यसपछि अहिले रामजानकी अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । बिरामी पक्षका महेश यादवका अनुसार जनकपुर न्यूरोको रिपोर्ट अनुसार टाउकोमा सात एमएम रगत जमेको बताएको थियो । शल्यक्रिया गरेर हटाएको र सो वापत साढे पाँचलाख रकम पनि लिएको छ ।
तर, सात दिनपछि काठमाण्डुको केएमसीमा गरेको सिटी स्क्यानको रिपोर्टमा साढे सातएमएम रगत अझै देखाएपछि जनकपुर न्यूरो हस्पिटलले ठगेको महेशको आरोप छ । केएमसीमा लगेपछि त्यहाँका चिकित्सकले जनकपुर न्यूरोको रिपोर्ट मागेका थिए । त्यसपछि बिरामी पक्षले हस्पिटलसंग रिपोर्ट माग्दा दरभंगा सिटी स्क्यानका सञ्चालक केदार यादवले ११ दिनपछि ह्वाटसअपमा रिपोर्ट पठाएका थिए ।
तर, उक्त रिपोर्टमा चिकित्सकको हस्ताक्षर छैन । र शल्यक्रिया भएको सात दिनपछिको मितिको सिटी स्क्यान गरेको रिपोर्ट दिएका छन् । अर्थात रिपोर्ट आउन अघि नै जनकपुर न्यूरोले शल्यक्रिया गरेको यही रिपोर्टबाट पनि पुष्टी हुन्छ ।
जनकपुरधाम–१ मुसहरी टोलस्थित जमुनियाका मनोज यादवको मोटरसाइकलमा ठोकिएर भदाँै २८ गते सोनाबती घाइते भएकी थिइन् । उनलाई तत्कालै उपचारको लागिप्रादेशिक अस्पताल जनकपुरमा लगेको मोटरसाइकल चालक मनोजले बताए । प्रादेशिक अस्पतालमा टाउकोमा चोट लागी रगत बगिरहेको रगत रोक्नका तत्काल चिकित्सकले दुईवटा टाँका लगाएर भित्रीको चोट हेर्न सिटी स्क्यान गर्न सुझाव दिए ।
त्यहाँ पुग्दा दरभंगा सिटी स्क्यानका संचालक केदार यादवले जनकपुर न्यूरो हस्पिटलमा आफ्नै सिटी स्क्यान रहेको भन्दै त्यहाँ लगेर सिटी स्क्यान गरेको थियो । सिटीको फिल्म इमेज हेरेर न्यूरोका चिकित्सकले सोनाबतीको टाउकोमा रगतजमेको भन्दै तत्काल शल्यक्रिया गरेर निकाल्नुपर्ने भनिएको थियो । ‘तर मैले जनकपुर न्यूरोमा शल्यक्रियान गराउने अडान लिइँ ।
अन्त्यमा न्यूरोले प्रहरीलाई बोलाएर मनोजलाई थुन्न लगाएको थियो । उनले आफूसंग न्यूरोका चिकित्सक, कर्मचारीलगायतकाले गिद्ध झैँ लुछाचुडी गर्दै जाइलाग्न खोजे र यहाँ शल्यक्रिया नगर्न अडान लिँदा प्रहरी लगाएर पक्राउ गराएको बताए । केएमसीमा चिकित्सकले विरामीको बारेमा स्पष्ट रुपमा भन्दै उपचार नगर्ने भनेपछि अहिले सोनावतीको उपचार जनकपुरधामस्थित रामजानकी होस्पिटलमा भइरहेको छ ।
न्यूरोले दिएको रिपोर्ट पनि शंकास्पद रहेको देखिन्छ । एउटै रिपोर्ट फरक फरक मितिमा रहेको पाइएपछि न्यूरोले पैसा कमाउन विरामीको ज्यान नै जानेगरी धन्धा बनाएको आरोप पीडित पक्षले लगाएको छ ।