२०८२ आश्विन ११, शनिबार ०७:२६

मधेश प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन चार दलीय गठबन्धनबीच सहमति भएको छ ।

मुख्यमन्त्री सतीश कुमार सिंहलाई जनमत पार्टीले फिर्ता बोलाउँदै सरकारबाट समर्थन समेत फिर्ता लिइसकेको छ । गठबन्धनमा रहेको नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लिइसकेपछि सिंह अल्पमतमा परिसकेका छन् । तर उनी राजीनामा दिने ‘मुड’ मा अझै छैन । प्रदेश सभामा विश्वासको मत लिने अडानमा रहेका सिंहलाई सहयोग गर्ने दलहरु मध्ये एमाले बाहेकका सबैले राजीनामा गर्न सुझाव दिइसकेका छन् ।



एमाले र लोसपा सिंहको सरकारमा अझै रहेका छन् । हुन त लोसपा मधेश प्रदेशका अध्यक्ष समेत रहेका पूर्वमन्त्री जितेन्द्र सोनलले पनि मुख्यमन्त्री सिंहलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रदेश सभा बैठकमा सुझाव दिएका थिए । अहिले सत्ताको साँचो लोसपासित रहेको छ । लोसपाले चार दलीय गठबन्धनलाई असहयोग गरे सरकार गठनको सम्भावना कमजोर हुनेछ ।

तर चार दलीय गठबन्धन मध्ये तीन दलले एमालेको नेतृत्वमा सरकार गठन हुन नसक्ने बताउँदै आएको छ । जेन– जी आन्दोलनपछि नेकपा एमालेका नेता र पार्टीप्रति बढेको जनआक्रोश अझै कम भइसकेको छैन । मधेश प्रदेशमा एमाले बाहेकका दलहरुको सरकार बन्नु पर्ने धारणा सबै दलको छ ।

कांग्रेससित सरकार बनाउन मधेश केन्द्रित दलहरु मात्र नभइ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि सकारात्मक छन् । तर एमालेको समर्थन लिए ती दलहरुले साथ नदिने प्रष्ट गरिसकेका छन् ।

उच्चस्रोतका अनुसार चार पार्टीका शीर्ष नेताहरुबीच काठमाण्डुमा नै सहमति भइ कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहलका लागि मधेश प्रदेशका नेताहरुलाई निर्देशन प्राप्त भइसकेको छ । चार पार्टीका संसदीय दलका नेताहरुबीच शुक्रबार भएको छलफलमा सरकारको नेतृत्व विषयमा विवाद नभए पनि एमालेले अनपेक्षित दाबी मन्त्रालयमा गरेको बताइन्छ ।

सिंह नेतृत्वको सरकारमा एमालेलाई भौतिक पूर्वाधार, स्वास्थ्य, गृह तथा सञ्चार र खेलकुद तथा समाजकल्याण मन्त्रालय रहेको छ । एमालेले अहिले अर्थ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा समेत दाबी गरेपछि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसकेको एकजनाले नेताले जनाएका छन् । चार दलबीच सहमति भए पनि मुख्यमन्त्री सिंहले राजीनामा दिने मनस्थिति बनाएको देखिदैन । उनले विश्वासको मत लिने अन्तिम दिन यही असोज २८ गते अथवा त्यसको अघिल्लो दिन २७ गते मात्र पद छाड्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News