विजया दशमी, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मधेश प्रदेशको आठवटै जिल्लामा असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने गरी ६ हजार ५३२ सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरीका प्रवक्तासमेत रहेका एसएसपी कमल थापाले जानकारी दिए । उनले चाडपर्वको भीडभाडमा आपराधिक गतिविधि रोकथाम, सडक सुशासन कायम, सीमावर्ती क्षेत्रमा अवैध गतिविधि नियन्त्रण र सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले योजना तयार गरिएको बताए ।
हालैको जेन– जी आन्दोलनको प्रभावले उत्पन्न भयको माहोललाई चिर्न पनि सुरक्षा व्यवस्था थप कडा पारिएको एसएसपी थापाले बताए । सुरक्षा योजनाअनुसार प्रत्येक जिल्लामा सरदर ८ सय प्रहरी परिचालन हुने उनको भनाइ छ । प्रदेशभरि ४८ वटा क्यूआरटी (क्विक रेस्पोन्स टिम), १९ वटा स्ट्राइकिङ टोली, ११६ स्थानमा ट्राफिकसहित चेकिङ, १२६ मोबाइल गस्ती, २१२ पैदल गस्ती, ३२५ पिकेट गस्ती र २६ स्थानमा राजमार्ग स्कर्टिङको व्यवस्था गरिएको उनले बताए ।
त्यस्तै महत्वपूर्ण सरकारी प्रतिष्ठान, धार्मिक एवं पर्यटकीय स्थल, बैंक तथा वित्तीय संस्था लगायतका संवेदनशील स्थानमा ८६ विशेष टोली खटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीका अनुसार बैंक, सुनचाँदी पसल, बजार र भिडभाड हुने क्षेत्रमा चोरी, लुटपाट, पाकेटमार तथा ठगी नियन्त्रणका लागि विशेष निगरानी रहनेछ ।
कृत्रिम अभाव, मूल्यवृद्धि, सार्वजनिक यातायातमा तोकिएको भन्दा बढी भाडा असुली, अवैध मदिरा उत्पादन तथा जुवातास जस्ता गतिविधि रोक्न पनि प्रहरीलाई कडा निर्देशन दिइएको छ । खुला सीमानाकाको कारण लुटपाटमा प्रयोग हुन सक्ने हतियारको दुरुपयोगको जोखिम रहेको सुरक्षा विश्लेषणमा देखिएकाले संवेदनशील सीमाक्षेत्रमा विशेष प्रहरी टोली परिचालन गरिएको उनले बताए ।



