
जेन–जी आन्दोलनको क्रममा मधेश प्रदेशको ९० वटा प्रहरी कार्यालयमा आशिंक तथा पूर्णरुपमा क्षति पुगेको जनाइएको छ । जेन– जी आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सम्पूर्ण प्रहरी कार्यालयहरु पुनः सञ्चालनमा आएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
गत भदौँ २३ र २४ गते जेन–जी प्रदर्शनको क्रममा मधेशको विभिन्न जिल्लामा रहेको ९० वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले जनाए अनुसार प्रदर्शनको क्रममा १३ वटा प्रहरी कार्यालयमा पूर्ण रुपले र ७७ वटा कर्यालयमा आशिंक रुपमा क्षति भएको थियो ।

प्रहरी कार्यालयहरुमा भएको क्षतिको कारण ७ करोड ३१ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धनुषामा सबैभन्दा बढी प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित २३ वटा प्रहरी कार्यालयमा क्षति भएको थियो ।
यस्तै, सर्लाहीमा २०, सिरहामा १४,रौतहटमा १२, पर्सामा ११, सप्तरीमा ६, बारामा ३ र महोत्तरीमा एउटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । प्रदर्शनको क्रममा भएको आगजनी तथा तोडफोडको कारण २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको सवारी साधनमा क्षति भएको छ ।
मधेश प्रदेश प्रहरीका अनुसार ८ वटा चारपांग्रे र २५ वटा दुई पांग्रे गाडीमा पूर्ण रुपले क्षति भएको हो भने १४ वटा चार पांग्रे र २ वटा दुई पांग्रे गाडीमा आशिंक क्षति पुगेको छ । प्रदर्शनको क्रममा मधेश प्रदेशमा रहेको विभिन्न २०७ वटा कार्यालयमा आगजनी तथा तोडफोड गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार जेन– जी आन्दोलनको क्रममा ८४ जना प्रहरी र १२ जना सर्वसाधारण घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो ।