अपडेट 
२०७७ बैशाख १६, मंगलवार १६:५९

रौतहट । आज थपिएका दुई जना कोरोना संक्रमितमध्ये रौतहट बृन्दावन ९ का २४ वर्षीय पुरुषलाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्‍ज लगिएको छ ।

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राख्‍न वीरगन्ज लगिएको हो । उनका श्रीमती, २ छोरी र सम्पर्कमा रहेका एक जनालाई समेत क्‍वारेन्टाइनमा ल्याइएको छ । १४ दिन क्‍वारेन्टाइन बसेर घर फर्केका ती पुरुषको जनकपुरमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

ईलाका प्रहरी गरुडाका डिएसपी ज्ञानकुमार महतो आफैले संक्रमितको घर पुगी एम्बुलेन्समा राखेर वीरगन्ज पठाएका हुन् । संक्रमितका २ छोरी र उनीहरुको सम्पर्कमा रहेका एक जनालाई चन्द्रपुर ६ स्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्‍वारेन्टाइनमा ल्याइएको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ ।

भारतबाट घर फर्केपछि चैत २२ गतेदेखि उनी क्‍वारेन्टाइनमा बसेका थिए । २६ गते जनकपुरबाट आएको चिकित्सकको टोलीले परीक्षणका लागि स्वाब लगेको थियो । त्यसको तीन दिनपछि नेगेटिभ रिपोर्ट आएको थियो । त्यही आधारमा उनलाई क्‍वारेन्टाइनबाट बिदाइ गरिएको थियो ।

काठमाडौंमा पुन: परीक्षण गर्दा पोजिटिभ देखिएको हो । संक्रमितसँगै भारतबाट ४ जना आएका थिए । उनीहरुलाई क्वारेन्टाइनको एउटै कोठामा राखिएको थियो । खाना पनि अलग्गै थियो । तर ३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

त्यस्तै अर्का संक्रमित देवाही गोनाहीस्थित क्‍वारेन्टाइनमा बसेका करुनियाका ३५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएपछि आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । उनको घर गुजरा नगरपालिका ५ हो । करुनिया भने उनको ससुराली पर्छ ।

Comment


Related News

Latest News

Trending News