२०८२ आश्विन १२, आईतवार १८:४७

सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको वर्गीकरण गरेर उचित राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने र वर्गीकरणपछि घाइते भएका व्यक्तिहरुलाई वर्गीकरणको आधारमा उचित राहत दिने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले बताउनुभयो ।



बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालयले परिचय पत्र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ भने घाइते भएका व्यक्तिहरूको पुनः उपचारका लागि अस्पतालहरू तोक्ने, ती अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताउनुभयो ।

बैठकले कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तराष्ट्रिय सौर्य गठबन्धनको आठौ बैठकमा सहभागी हुन ऊर्जामन्त्री कुलमान घिसिङलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता खरेलले बताउनुभयो ।

त्यस्तै मुग्लिङ–पोखरा सडकअन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तरको मुग्लिङ बजारको पारीपट्टी त्रिशूली किनार गोरखातर्फदेखि मस्र्याङदी नदीको बायाँ किनार हुँदै मस्र्याङदी विद्युत् गृहको पारीपट्टी गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गर्ने र सडकको केन्द्र रेखाबाट दायाँ बायाँ १५–१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

बैठकले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिनालाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो ।

 

Comment


Related News

Latest News

Trending News