२०८२ आश्विन १९, आईतवार ११:१९

रौतहटमा निरन्तर वर्षा र बाढीका कारण जनधनको क्षति बढ्दै गएको छ। शनिबार बिहान बागमती नदीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्धलाई जिउँदै उद्धार गरिएको छ।

माधवनारायण नगरपालिका–८ का हरिबंश रायकी श्रीमती ७५ वर्षीया पन्मा देवी राय दाउरा टिप्ने क्रममा शनिबार बिहान करिब ९ः३० बजे घरदेखि करिब २ किलोमिटर उत्तर–पूर्वमा रहेको बागमती खोलामा डुबेकी हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार स्थानीयवासी र प्रहरीको सहयोगमा उनको शव खोलाको किनारमा सुरक्षित राखिएको छ। घटनास्थललाई इलाका प्रहरी कार्यालय पिपरारजवाडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट टोली पुगिसकेको कार्कीले जानकारी दिए।

त्यस्तै, गढीमाई नगरपालिका–५ बागमती नदी किनारमा दाउरा निकाल्ने क्रममा अन्दाजी ६५ वर्षीय बिगन राय यादवलाई नदीले बगाएको थियो।

घटनापछि स्थानीयवासी र सशस्त्र प्रहरी बल सन्तपुरको टोलीले उनलाई जिउँदै उद्धार गरी गढीमाई नगरपालिका–१ स्थित भरत मेडिकलमा उपचारका लागि पुर्‍याएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले जानकारी दिए। उनका अनुसार यादवको स्वास्थ्य अवस्था सामान्य छ।

निरन्तर वर्षा र बाढीका कारण बागमती र लालबकैया नदीमा पानीको सतह तीव्ररूपमा बढेपछि नदी किनारका बस्ती उच्च जोखिममा परेका छन्। शनिबार परेको अविरल वर्षा र बाढीले गढीमाई, वृन्दावन, मौलापुर, बौधिमाई, माधवनारायण, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका नदी किनार नजिकका वडाहरूमा ठूलो क्षति पु¥याएको छ।

पूर्वतर्फ बागमती र पश्चिमतर्फ लालबकैया नदीका थुप्रै स्थानमा बाँध फुट्दा सयौँ घर डुबानमा परेका छन्। प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका छुट्टाछुट्टै टोलीले उद्धार कार्य जारी राखेका छन्।

जिल्ला प्रशासन कार्यालय (सिडियो) बिनोद कुमार खड्काका अनुसार वर्षाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरको १ र २ नम्बर लचका क्षेत्रमा पानीको तेज बहावका कारण साना गाडीहरूको आवाजजावत रोकिएको छ।

त्यसैगरी, गुजरा नगरपालिका अन्तर्गत लमहा खोलामा आएको बाढीले बालचनपुर–जंगलसहिया सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरी प्रशासनले बाढी जोखिम बढेकाले नदी किनार नजिक दाउरा टिप्न वा नदीमा प्रवेश नगर्न स्थानीयलाई आग्रह गरेको छ।

बर्षा संगै चट्याङ लागेर रौतहटमा शनिवार राति तीनजनाको मृत्यु भएको थियो।

Comment


Related News

Latest News

Trending News