सर्लाही जिल्लाको मलंगवा नगरपालिका–५ भाडसरस्थित लखनदेही खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।
प्रहरी चौकी भाडसरका अनुसार मङ्गलवार बिहान ११:३० बजे भाडसर नजिकै लखनदेही खोलामा स्थानीय चार जना युवक नुहाउन गएका थिए। नुहाउने क्रममा खोलाको तीव्र बहावले उनीहरूलाई बगाउँदा तीन जना सकुशल बाहिर निस्कन सफल भए तर एक जना खोलाले बगाएर बेपत्ता भए।
बेपत्ता भएका युवकको पहिचान भाडसरकै बिनोद ठाकुरका १८ वर्षीय छोरा ओम ठाकुर रहेको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै दिउँसो १२ बजे प्रहरी चौकी भाडसरबाट असई जलन्धर यादवको कमाण्डमा टोली खटिएको थियो। खोजतलासका क्रममा १ बजे खोलामा तैरिएको अवस्थामा ओम ठाकुरलाई फेला पारेर तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो।
तर, अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मृतकको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ।
प्रहरीका अनुसार घटना स्थल प्रहरी चौकी भाडसरदेखि करिब १ किलोमिटर पश्चिमतर्फ पर्छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।



