नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापना गरेर देशलाई लोकतन्त्रको ट्रयाकमा फर्काउनुपर्ने बताउनुभएको छ ।
एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले लुटपाट, विध्वंसबाट संसद विघटन गरिएको र लोकतन्त्रलाई ट्रयाक आउट गरिएको उल्लेख गर्दै लोकतन्त्रलाई सही बाटोमा फर्काउने पहिलो कदम संसद पुनस्र्थापना भएको बताउनुभयो ।
अध्यक्ष ओलीले संसद पुनस्र्थापनाका लागि देशैभरी आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । अध्यक्ष ओलीले संसद पुनस्र्थापनामा नेपाली काँग्रेस र अन्य दलले निर्णय गरेर अघि बढ्ने आफूले अपेक्षा गरेको बताउनुभयो । त्यस्तै उहाले सुशीला कार्की लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री भएकोले लोकतन्त्रको रक्षाको कुनै सम्भावना नभएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री हुने बित्तिकै संसद भग गर्न पाउनुपर्दछ भन्ने माग राखेर कार्की प्रधानमन्त्री भएकोले उहाँको नियतमै खोट रहेको उहाले बताउनुभयो । आफ्नो पासपोर्ट रोक्ने र उपत्यका बाहिर जान नदिने जस्तो तमासा नगर्न उहाले सरकारलाई चुनौति दिनुभयो ।
उहाँले गृहमन्त्रीलाई नउताउलिन चेतावनी दिंदै देश चलाउने कुरा हाँसी मजाक नभएको बताउनुभयो । यसैगरि अध्यक्ष ओलीले जेनजी आन्दोलनका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन एमाले र नेपाली जनतालाई मान्य नहुने बताउनुभयो ।
उहाँले सरकारको चुनाव गराउने कुनै एजेण्डा नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले चुनावी एजेण्डा सरकारलाई दिएको स्पष्ट पार्नुभयो । कतिपयले फागुन २१ मा निर्वाचन भएन भने मात्र संसद पुनस्र्थापनाको पक्षमा लाग्ने भन्ने गरेकोमा उहाँले त्यति लामो समयसम्म देशलाई गैह्र लोकतान्त्रिक तरिकाले अघि बढाउन नहुने धारणा राख्नुभयो ।


