जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश अध्यक्ष पदका लागि पार्टीमा तीव्र धु्रवीकरण बढेको छ । जसपा नेपाल मधेश प्रदेश कार्य समितिको प्रदेश अधिवेशन घोषणा भएसंगै वर्तमान अध्यक्ष बालकिशोर यादवले मौन रुपमा पुनः अध्यक्ष पदको उम्मेदवारी दिइने संकेत गर्नु अघि नै पूर्वराज्यमन्त्रीसमेत रहेका योगेन्द्र राय यादवले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेसंगै तीव्र रुपमा धु्रवीकरण बढेको छ ।
मधेश प्रदेशका पूर्वराज्यमन्त्रीसमेत रहेका समाजवादी युवा संघका पूर्वअध्यक्ष योगेन्द्र राय यादवले पार्टी प्रदेश अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेसंगै पार्टीभित्र कडा प्रतिस्पर्धा हुने देखिन्छ । पार्टी अध्यक्षको विश्वसनीय पात्र आफू नै रहेको दाबी गर्दै प्रदेश अधिवेशन आफू केन्द्रित गर्नेहरुको पनि तछाडमछाड देखिएको छ ।
भदौँ ३१ गते हुने भनिएको जसपा नेपाल मधेश प्रदेशको अधिवेशन करिब एक महिना ढिला गरी हुँदैछ । यसअघि भदौँ ३१ देखि असोज १ गतेसम्म प्रदेश अधिवेशन हुने भनिएको थियो । तर मुलुकको राजनीतिक र आन्तरिक तयारी पूरा नभएपछि एक महिना ढिला गरी अधिवेशन हुने भएको छ ।
यही असोज २७ र २८ गते हुँदैछ । पार्टी अध्यक्ष उपेन्द्र यादवको लामोसमयसम्म स्वकीय सचिवदेखि सहयोगीसम्म भएर विगतमा काम गरिसकेका, मधेश प्रदेशको राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका, पार्टीको मधेश प्रदेशको राजनीतिमा बलियो पकड भएका, विद्यार्थी जीवनदेखि नै मधेशलाई आधार बनाएर राजनीति गर्दै आएका पार्टीको केन्द्रीय सदस्य योगेन्द्र राय यादवको नाम चर्चामा आएसंगै वर्तमान अध्यक्ष बालकिशोर यादवसमेत भयभीत छन् ।
संगठन निर्माणमा विगतदेखि नै कठिन संघर्ष गरेका मेहनती योगेन्द्र राय यादवको उम्मेदवारी घोषणाले जसपा नेपाल मधेश प्रदेशको निवर्माचन निकै प्रतिस्पर्धात्मक रोचक हुने अनुमान गरिएको छ । उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । पूर्वराज्यमन्त्री योगेन्द्र राय यादवले जसपा नेपालको आधार क्षेत्र रहेको मधेश प्रदेशमा अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा रहनु परेकाले वर्तमान प्रदेश अध्यक्ष बालकिशोर यादव असफल भएकाले आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले आफू निर्वाचित भएमा पुनः प्रदेशमा जसपा नेपालको सरकार हुने ठोकुवा गर्दै आएका छन् ।
निर्वाचन लड्ने लक्ष्यका साथ उनले विगत केही महिनादेखि मधेश प्रदेशका आठवटै जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट गरिसकेका छन् । उनले मधेशको सबै जिल्लामा जसपा नेपालका शीर्ष नेता देखि लिएर प्रदेश र जिल्ला निर्वाचन क्षेत्रका अधिकांश नेता कार्यकर्ताहरुसंग भेटघाट गरी सघाउनका लागि सहयोग गर्ने दाबी गरे ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य तथा पार्टीका अन्य शीर्ष नेताहरूको उपस्थितिमा जनकपुरधाममा भव्य समारोहकाबीच जसपा नेपालको मधेश प्रदेश अधिवेशनको उद्घाटन यही असोज २७ गते हुने छ । जसपा नेपाल मधेश प्रदेश अध्यक्षका आकांक्षी अहिलेसम्म दुईजना छन् ।
एकताको प्रथम प्रदेश अधिवेशनमा जसपा नेपाल मधेश प्रदेशको ६५ सदस्यीय समिति रहने छन् भने ९ जना पदाधिकारी रहने छ । यही असोज २७ र २८ गते दुई दिनसम्म जनकपुरधामस्थित निधि सांस्कृतिक केन्द्रमा हुने एकताको प्रथम प्रदेश अधिवेशनका लागि भूगोलबाट प्रतिनिधि छनोट कार्य भइसकेको जनाइएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक नवलकिशोर यादवले जनाए अनुसार जसपा नेपालको मधेश प्रदेशमा मात्रै ८५ हजार हाराहारी क्रियाशील सदस्य मध्येबाट करिब ४ सय ५० प्रतिनिधि छनोट भएको छ । प्रदेश निर्वाचन क्षेत्रलाई इकाइ मानेर भएको प्रतिनिधि छनोटमा २०० सय क्रियाशील सदस्यमा १ जना प्रदेश अधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
यस अतिरिक्त पार्टी जिल्ला कमिटी, भातृ एवं जनवर्गीय संगठन तथा कुल प्रतिनिधिको पाँच प्रतिशत प्रदेश समितिबाट प्रतिनिधि मनोनयन हुने व्यवस्था अनुसार साढे पाँच सय जति प्रतिनिधि अधिवेशनमा सहभागी हुने प्रदेश अध्यक्ष बालकिशोर यादवले बताए । रामबाबु यादवको अध्यक्षतामा रहेको प्रदेश कमिटी भंग गरेपछि सरकारी कर्मचारी रहेकै अवस्थामा बालकिशोर यादवलाई प्रदेश अध्यक्षमा दुई वर्ष अघि चयन गरिएको थियो ।
प्रदेश अध्यक्ष बालकिशोर यादव स्वास्थ्य कार्यालय पर्सामा सातौं तहका अधिकृत पदमा कार्यरत थिए । कार्यरत रहँदा नै उनलाई पार्टीको प्रदेश अध्यक्ष पदमा मनोनित गरिएको थियो ।


