अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय भवन निर्माणको ठेक्कासम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको अभियोगमा तत्कालीन तीन जना अधिकारी र विज्ञापन एजेन्सीका सञ्चालकसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार, आर्थिक वर्ष २०७७/७८ मा माधवनारायण नगरपालिका-३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यका लागि आह्वान गरिएको ठेक्का नं. MNM/Works/2/077/078 को बोलपत्र आह्वानको सूचना र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार गरेको पाइएको छ।
यस कार्यमा संलग्न भई गैरकानूनी लाभ तथा नगरपालिकालाई हानि पुर्याउने बदनियतले काम गरेको पुष्टि भएपछि अख्तियारले निम्न प्रतिवादीहरू उपर सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ:
आरोप पत्र दायर हुनेमा माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, माधवनारायण नगरपालिकाका तत्कालीन लेखापाल रामबलम प्रसाद यादव रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.का सञ्चालक अजित कुमार कर्ण रहेका छन् ।
अनुसन्धानका क्रममा माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.का सञ्चालक अजित कुमार कर्णसमेतको आपसी मिलोमतो र योजनामा सूचना प्रकाशन नगरी भुक्तानी दिएको पाइएको छ।
उनीहरूले बोलपत्र आह्वानको सूचना (मिति २०७७।१०।०८) र बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (मिति २०७७।११।१३) लुकाई छिपाई, सार्वजनिक वितरणका लागि प्रकाशन नै नगरी, माधवनारायण नगरपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी ‘सिटी पोष्ट राष्ट्रिय दैनिक पत्रिका’ जस्तो देखिने सीमित प्रतिहरू मात्र प्रकाशित गरी नगरपालिकामा पेश गरेको पाइएको थियो।
प्रेस काउन्सिल नेपालबाट सो मितिका सूचनाहरूको ‘पीडीएफ अभिलेख’ नदेखिएको भनी प्राप्त भएबाट उक्त सूचना प्रकाशित नै नभएको पुष्टि भएको छ। सोही झुट्टा विवरणसहितको पत्रिका र झुट्टा बिल भरपाई लगायतका कागजातहरूको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि.लाई रू.२,५७,९७०।– (दुई लाख सन्ताउन्न हजार नौ सय सत्तरी रुपैयाँ मात्र) भुक्तानी दिएको पुष्टि भएको छ।



