अपडेट 
२०७७ बैशाख १७, बुधबार ०८:२२

टीकापुर/डोटी/अछाम । लकडाउनकै अवधिमा पूर्वी क्षेत्रबाट झन्डै ८ हजार नागरिक सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन्। उनीहरू केही पैदल र केही बसमार्फत आएका हुन्। प्रदेशको प्रवेशद्धार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको छैन।

लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार उनीहरू चैत २७ गतेदेखि मंगलबारसम्म चिसापानीबाट सुदूरपश्चिम प्रवेश गरेका छन्। उनीहरू दोस्रो चरणको लकडाउन थपिएसँगै धमाधम पैदल आउन थालेका थिए।

एक सातायता स्थानीय तह, संघीय सांसद, मन्त्रीलगायतले आफ्ना नागरिकलाई बसमै पठाउन थालेपछि त्यो संख्या बढेको हो। अघिल्लो सातासम्म ३ हजार जना प्रवेश गरेका थिए। ‘यो साता स्थानीय तह, सांसदहरूले पनि काठमाडौंबाट बसमा पठाउन थालेपछि यो संख्या निकै बढेको हो’, उनले भने।

धादिङ, गोरखा, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, काभ्रे, नुवाकोटलगायत जिल्लामा रहेका सुदूरपश्चिमेली धमाधम फर्किरहेका छन्। उनीहरूलाई चिसापानीमा सामान्य जाँचसमेत हुने गरेको छैन। अन्य जिल्लाबाट आएकाहरूको स्वास्थ्य जाँच, ¥यापिड टेस्ट गर्नुपर्ने भए पनि उनीहरू भने त्यत्तिकै फर्किरहेका छन्।

चिसापानीमा हेल्थ डेस्क सञ्चालन गर्न प्रदेश सरकारले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। लम्की चुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बीसीले जिल्लाले स्वास्थ्य सामग्री पठाएर हेल्थ डेस्क सञ्चालन गर्ने तयारी भइरहेको बताइन्।

डोटीमा १७३ भित्रिए

काठमाडौंमा डेरा बस्दै आएका डोटीका बासिन्दा सोमबार र मंगलबार १ सय ७३ जना फर्किएका छन्। बाहिरबाट आउने व्यक्तिले २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासनको निर्णय छ। त्यसअनुसार उनीहरूलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ। उनीहरू स्थानीय तहहरूकै सक्रियतामा आएको हुन सक्ने र जो जसरी जिल्लामा आए पनि क्वारेन्टाइनमा भने अनिवार्य बस्नै पर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

काठमाडौंबाट फर्किनेमा शिखर नगरपालिकाका ५५, दिपायल सिलगढी नगरपालिकाका २४, पूर्वीचौकी गाउँपालिकाका ४१, केआईसिंहका २०, बोगटान फुड्सिलका १९ र आदर्शका १२ जना छन्। तिनीहरू सबैलाई आआफ्नो स्थानीय तहले सबै व्यवस्थापनका साथ क्वारेन्टाइनमा राखेको बताइएको छ।

अछाममा ६५ जना फर्किए

गृह मन्त्रालयले लकडाउन कडाइ गर्न सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेकै दिन मंगलबार अछाममा बाहिरबाट ६५ जना भित्रिएका छन्। डोटी र अछामको सिमाना चौखुट्टेमा रोकिएका ६१ जनालाई सोमबार जिल्ला भिœयाइएको थियो। मंगलबार मात्रै धनगढीबाट चार जना जिल्ला भित्रिएका छन्।

लकडाउन खुकुलो भएको गुनासो बढेपछि मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पासबिनाका सवारी आवतजावतमा पूर्णरुपमा रोक लगाउन निर्देशन दिएको थियो। त्यसको उल्लंघन गर्दे काठमाडौं, धनगढी, महेन्द्रनगर र टीकापुर विभिन्न ठाउँबाट आएकाहरू जिल्ला भित्रिएका हुन्। १६ जना बाजुरा जाने बस र ४९ जना अछामको बसमा आएका हुन्। चार जना बा. १५च २६४ नम्बरको स्कर्पियोमा मंगलबार बिहान आएका चौखुट्टे प्रहरी चौकीले जानकारी दिएको छ। जिल्लाका नौ स्थानीय तहले क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता जनाएपछि जिल्ला भित्रिन दिइएकोे जिल्ला प्रहरी अछाममा प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए।

लकडाउनमा कडाइ गर्दागर्दै पनि केन्द्रबाटै पठाइएका गाडी भएका कारण नाकाबाटै फर्काउन नसकिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। ‘सबै स्थानीय तह लकडाउन अवधिमा बाहिरबाट कसैलाई पनि नल्याउने विषयमा एकमत भएका छन्। समस्यामा परेकाहरूलाई उतै राहतको व्यवस्था गर्ने सहमति भएका छ’, प्रमुख जिल्ला अधिकारी पौडेलले भने।

फर्किएकामध्ये बान्नीगढी जयगढ गाउँपालिकाका २२, कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकाका ९, साँफेबगर नगरपालिकाका १२, चौरपाटी गाउँपालिकाका ३, रामारोशनका ८, मंगलसैन नगरपालिकाका ९ र मेल्लेख गाउँपालिकाका ३ जना छन्। सबैलाई क्वारेन्टाइनमा राखिने स्थानीय तहका प्रमुखहरूले बताएका छन्।

Comment


Related News

Latest News

Trending News