२०८२ आश्विन ३१, शुक्रबार ०७:२९

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको अधिवेशनको निर्वाचन प्रक्रियालाई एक पक्षले बहिष्कार गरेपछि निर्वाचन समितिले अध्यक्ष पदमा बालकिशोर यादवलाई निर्विरोध निर्वाचित गरेका छन् ।

अध्यक्ष पदका उम्मेदवार योगेन्द्र राय यादवले अधिवेशन कर्मकाण्डी हिसावले चलिरहेको र अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरीत आफूखुशी हुलका हुल प्रतिनिधि छनोट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको र आफूहरुलाई बन्दसत्रमा समेत महत्व नदिइएकोको कारण निर्वाचन प्रक्रिया बहिष्कार गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएपछि निर्वाचन समितिले अर्का अध्यक्ष पदका उम्मेदवर वाल किशोर यादवलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।

निर्वाचन समितिका अनुसार निर्वाचनका लागि मनोनयन दर्ताको समय सीमा भित्र अध्यक्ष पदमा बालकिशोरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । उनका साथै मुख्यसचिवमा ज्ञानेन्द्र कुमार यादव र कोषाध्यक्षमा विष्णु प्रसाद साहको एकल उम्मेदवारी परेपछि अध्यक्ष यादव संगै मुख्यसचिव र कोषाध्यक्ष समेत निर्विरोध निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष यादवले निर्वाचन बहिष्कार गर्ने साथीहरुलाई निर्वाचन प्रकृया बहिष्कार नगरी त्यसमा सामिल हुनुपर्नेमा उनीहरुले निर्वाचन परिणाम आफ्नो पक्षमा नजाने देखेर बहिष्कार गरेको आरोप समेत लगाए । बाँकी ३ जना उपाध्यक्षमा सात जना, ३ जना सचिवमा ४ जना र ४२ जना सदस्यका लागि ७२ जना उम्मेदवारी दिएपनि बन्द सत्रमा उपस्थित प्रतिनिधिहरुले कार्यसमितिलाई पूर्णता दिने अधिकार अध्यक्ष मण्डललाई दिएपछि अधिवेशन अन्त्यको घोषणा गरिएको छ ।

योगेन्द्र राय यादवसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रक्रिया बहिष्कार गरेका थिए । यसका साथै मधेसका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह, पूर्वप्रदेश अध्यक्ष रामबाबु यादव लगायतका नेताहरुको समेत उनलाई समर्थन प्राप्त छ ।

Comment


Related News

Latest News

Trending News