२०८२ कार्तिक ३, सोमबार ०७:१४

जनकपुरधाममा अवैध सुनचाँदीको कारोबारमा छापा मार्न गएको प्रहरी टोलीमाथि ‘लुटपाट गर्न आएको’ भन्दै लगाइएको आरोपलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आपत्ति जनाएको छ ।

धनुषा प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै केही पत्रपत्रिका र राजनीतिक दलहरूले तथ्यहीन तथा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । असोज ३१ गते जनकपुरधामको सोनारपट्टी गल्लीमा रहेको सुनचाँदी पसलमा ‘अवैध चाँदीको कारोबार’ भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि मात्रै प्रहरी टोली राजश्व अनुसन्धान कार्यालय र सुनचाँदी व्यवसाय संघका प्रतिनिधिसहित कानुनबमोजिम चेकजाँच तथा खानतलासीका लागि खटिएको प्रहरीको विज्ञप्तीमा उल्लेख गरिएको छ ।



धनुषा प्रहरीले कानुनले शंकास्पद गतिविधि भएको स्थानमा चेकजाँच र खानतलासी गर्न पाउने पूर्ण अधिकार दिएको स्पष्ट पार्दै, प्रहरी कामकारबाही कानुनको परिधिभित्र रही गरिएको दाबी गरेको छ । धनुषा प्रहरीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार चेकजाँचकै क्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्षको नेतृत्वमा १००/१५० जनाको भिड जम्मा भइ प्रहरीलाई घेरा हालेको, होहल्ला गरेको र प्रहरी कर्मचारीहरूमाथि हातपात तथा ढुंगामुढा प्रहार गरी काम कारबाहीमा बाधा पु¥याएका थिए ।

उक्त झडपमा परि १० जना प्रहरी कर्मचारी घाइते हुनुका साथै प्रहरीको सञ्चार सेट खोसिएको र गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भिड नियन्त्रणका लागि सामान्य बल प्रयोग मात्रै गरेको स्पष्ट पारेको छ । झडपपछि प्रहरीले उक्त पसलबाट बिल बिजक नभएको ७.४३६ किलोग्राम चाँदी जस्तो देखिने वस्तु बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइसकेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News