हमासको कब्जामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार स्वदेश ल्याइँदैछ। दिउँसो २ बजेर २० मिनेटमा फ्लाई दुबैको विमानमार्फत शव काठमाडौं ल्याइनेछ ।
आइतबार दिउँसो इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेर शव नेपाल पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस क्रममा इजरायलमा रहेका नेपाली समुदाय, विपिनलाई आश्रय दिएको किबुज समुदायले श्रद्धाञ्जली व्यक्त गरेका थिए।


विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्री र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले विपिनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि शव परिवारलाई हस्तान्तरण गरी महेन्द्रनगर पुर्याएर अन्तिम संस्कार गरिनेछ। २०२३ अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा जोशीलाई हमासले बन्धक बनाएको थियो।
एक साताअघि मात्र युद्धविरामपश्चात् बन्दी रिहाईको क्रममा उनको मृत्यु भएको पुष्टि भएको थियो । जोशीको उद्दार गर्न अमेरिक पुगेका उनका आमा र बहिनी भने दुई दिनअघि मात्र घर फर्किएका छन् ।

