आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह ले गृहमन्त्री ओमप्रकाश अर्याल को भूमिका शंकास्पद रहेको आरोप लगाउँदै तत्काल राजीनामा माग गरेका छन्।
शनिबार पर्साको पर्सागढीमा दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने —“भदौ २३ गते युवाहरूको छाती र टाउकोमा ताकि–ताकी गोली हानियो। ती हत्याराहरुलाई अहिलेसम्म कारबाही गर्न नसक्ने यो सरकारको औचित्य नै समाप्त भएको छ। गृहमन्त्री अर्याल नै लुरे परे।”

साहका अनुसार जेन–जी आन्दोलनका क्रममा युवामाथि भएको ‘नरसंहार’मा संलग्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अझैसम्म पक्राउ नगर्नु दुर्भाग्यपूर्ण छ। उनले गृहमन्त्री अर्याल र प्रधानमन्त्री सुशीला कार्की माथि हत्यारालाई बचाउने प्रयास गरेको आरोप समेत लगाए।
साहले भने, “सरकार बनेको यति समय बितिसक्यो, तर हत्याराहरुमाथि कारबाही गर्न नसक्नुको साटो उल्टै बालेन शाह र सुदन गुरुङजस्ता आन्दोलनकारीविरुद्ध जाहेरी दर्ता गरिन्छ। यो सरकार युवाहरूको बलिदानको अपमान हो।”
उनले जेन–जी युवाहरूको आन्दोलनलाई वर्तमान सत्ताधारीहरूले अपहरण गरेको दाबी गर्दै भने —“अब यिनीहरूलाई कुर्सीमा बस्ने नैतिकता छैन। यदि सरकारले हत्यारालाई कारबाही गरेन भने जनता स्वयंले कारबाही थाल्नेछन्।”
साहले अहिलेको सरकार “हत्याराको सेवामा समर्पित” भएको टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीको राक्षसी प्रवृत्तिले देशलाई दुर्घटनातर्फ धकेलेको बताए।
त्यस अवसरमा उनले पर्सा जिल्लाको दीर्घकालीन विकासका मुद्दा पनि उठाए। वीरगञ्जलाई आर्थिक राजधानी, नारायणी अस्पताललाई मेडिकल कलेज, ठाकुरराम क्याम्पसलाई विश्वविद्यालय र नारायणी रंगशालालाई विश्वस्तरीय खेल मैदान बनाउने माग गर्दै उनले विगतमा मन्त्री बनेका स्थानीय नेताहरूले जिल्लाको विकासमा ध्यान नदिएको आरोप पनि लगाए।
साहले अन्त्यमा भने —“यो सरकार चुनावी सरकार हो, तर यसको पहिलो दायित्व युवाहरूका हत्यारालाई कानूनी दायरामा ल्याउने हुनुपर्छ। जनताको धैर्यको पनि सीमा हुन्छ।”

