अपडेट 
२०७७ बैशाख १७, बुधबार १८:३९

जनकपुरधाम । प्रदेश-२ मा कोराना भाइरसको संक्रमण भएका थप तीन जनालाई वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन बेडमा भर्ना गरिएको छ।

संक्रमित भेटिएकामध्ये बाराको सिम्रोनगढ नगरपालिका-४ का ३१ वर्षीय, जितपुर सिमरा उपमहानगरपालिका ७ का ४३ वर्षीय र पर्साको वीरगन्ज महानगरपालिका २ छपकैयाका ४६ वर्षीय पुरुष छन्। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि तीनै जनालाई एम्बुलेन्समार्फत नारायणी अस्पताल पुर्‍याएर आइसोलेसन बेडमा भर्ना गरिएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार तीनै जनाको उपचार सुरु गरिएको छ। संक्रमित तीनै जना भारतको राजधानी नयाँदिल्लीस्थित निजामुद्दिनमा भएको धार्मिक सभा (तबलिगी जमात)मा सहभागी भएर घर आएका थिए।

चैत २८ मा चोरबाटो भएर घर आएका बाराका ३१ वर्षीय र ४३ वर्षीय पुरुषलाई सिमरास्थित अस्थायी विशेष कोरोना अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो। ३१ वर्षीय युवक जितपुर सिमरा उपमहानगरपालिका १९ मा रहेको एक मस्जिदमा पनि केहीदिन बसेका थिए। अर्का संक्रमित ४३ वर्षीय पुरुष भने केहीदिन घरमा बसेको बुझिएको छ।

बैशाख १४ मा वीरगन्जका ५० वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा बाराका दुवै जनाको विवरण खुलेको थियो। त्यसपछि तत्कालै उनीहरूलाई सम्पर्कमा ल्याएर स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो।

यता, पर्साको वीरगन्ज उपमहानगरपालिका २ का ४६ वर्षीय पुरुष पनि भारतकै धार्मिक सभाबाट सहभागी भएर फर्केको सचिव घिमिरेको भनाइ छ। उनले भने, ‘४६ वर्षीय पुरुषको पनि वैशाख १४ मै स्वाब परीक्षणका लागि काठमाडौं पठाउँदा रिपोर्ट पोजेटिभ आएको छ।’

उनले संक्रमित भेटिएको इलाकालाई सिल गरिएको समेत जानकारी गराए। उनका अनुसार उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरूको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङको कार्य समेत भइरहेको छ। सम्पर्कमा आएका सबैको परीक्षण गरिने उनको भनाइ छ।

गलत सूचना दिँदै प्रदेश सचिव

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूले तीन जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको बिहानै नारायणी अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयलाई जानकारी गराएका थिए।

तर, मन्त्रालयका सचिव घिमिरेले सञ्चारकर्मीलाई पर्सामा २ र बारामा २ गरी थप ४ जना संक्रमित भेटिएको बताए। मिडिया ब्रिफिङमा उनले तथ्याङ्क सच्याएका छन्। उनले आफ्नो गल्ती लुकाउँदै भने, ‘केही मिडियाले चार संक्रमित भेटिएको भनेर ‘मिस्टेक’ले लेख्यो। तर, चार होइन्, तीन जनामा मात्र संक्रमण पुष्टि भएको छ।’

उनले संक्रमित पुष्टि भएकाहरु भारतको धार्मिकसभामा सहभागी भई लकडाउनको अवस्थामा फागुन २८ मा लुकिछिपि नेपाल प्रवेश बताएका थिए। जबकी फागुन २८ मा लकडाउन थिएन। सरकारले चैत ११ बाट देशलाई लकडाउन गरेको छ। सचिव घिमिरेले यसअघि पनि सञ्चारकर्मीलाई पटक-पटक गलत सूचना दिएका छन्।

Comment


Related News

Latest News

Trending News