भारतको प्रमुख प्रतिपक्ष दलका नेता तथा सांसद राहुल गान्धीले हरियाणा राज्यमा २५ लाख भोट चोरी भएको आरोप लगाएका छन् ।
पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भोट चोरीको समर्थन गर्ने विभिन्न प्रमाणसहित भोट चोरिएको दाबी गरेका हुन् । उनले मतदाताहरूका नक्कली फोटो र काल्पनिक ठेगानासम्बन्धी प्रश्नहरू उठाए । “हरियाणा, कर्नाटक र मध्य प्रदेशमा भोट चोरी भएको प्रमाण हामीसँग छ,” उनले भने ।
उनका अनुसार, हरियाणाको एक्जिट पोलमा कांग्रेसको जित देखाइएको थियो र अन्य धेरै ठाउँमा पनि त्यस्तै नतिजा आएको थियो । तर पछि, कांग्रेसले भोट चोरीबारे गुनासाहरू पाएको उनले बताए ।
राहुलले एक महिलाको तस्बिर देखाउँदै भने, “हरियाणामा एक महिलाले फरक–फरक नामबाट १० ठाउँमा २२ पटक भोट हालिन् । यी महिला वास्तवमा ब्राजिलकी मोडल हुन् ।”
ती महिलाले ‘स्वीटी’, ‘विमला’, ‘सरस्वती’ आदि नाम प्रयोग गरी भोट हालेको गान्धीले बताए । “यो केवल बुथ स्तरमा भएको घटना होइन, यो एक केन्द्रीकृत अपरेसन हो,” उनले दाबी गरे, “हामीसँग ‘एच’ फाइल्स छन्, जसमा कसरी पूरा एउटा राज्य चोरी गरियो भन्ने देखाइएको छ ।”
उनले भने, “केवल केही सिटहरूमा मात्र होइन, राज्य र राष्ट्रिय स्तरमै भोट चोरी भइरहेको छ भन्ने हामीलाई शंका छ ।”
कांग्रेसले हरियाणाका उम्मेदवारहरूबाट व्यापक गुनासाहरू पाएको पनि उनले बताए । “यस्तै अनुभव हामीले मध्य प्रदेश, छत्तीसगढ र महाराष्ट्रमा पनि गरेका थियौँ,” उनले भने, “तर हरियाणामा के भयो भन्ने विस्तृत अध्ययन गर्ने निर्णय गरेर हामीले त्यसमाथि ध्यान केन्द्रित गर्यौँ ।”
हरियाणामा हरेक आठमध्ये एक मतदाता नक्कली भएको गान्धीको दाबी छ । “नक्कली फोटो भएका हरियाणामा एक लाखभन्दा बढी मतदाता छन् । र, करिब २५ लाख भोट चोरी गरिएको छ,” उनले भने ।
उनले मतदाता सूचीमा धेरै मतदाताहरूको घर नम्बर ‘शून्य’ रहेकोमा समेत प्रश्न उठाए । उनका अनुसार, “नक्कली मतदाताहरूको कुनै स्थायी पहिचान हुँदैन । उनीहरूले भोट हालेपछि हराउँछन्, जसले गर्दा उनीहरूलाई पहिचान गर्न असम्भवजस्तै हुन्छ,” उनले भने ।
‘भोटर अधिकार यात्रा’को अन्तिम दिन एक आमसभालाई सम्बोधन गर्दै राहुलले भाजपामाथि तीव्र प्रहार गर्दै जुन शक्तिहरूले महात्मा गान्धीको हत्या गरेका थिए, तीनैले अहिले भारतको संविधान नष्ट गर्ने प्रयास गरिरहेका बताएका थिए ।


