२०८२ कार्तिक २३, आईतवार १४:३१

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको हो ।

लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने उहाले बताउनुभयो । राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकाले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व भएको उहाले बताउनुभयो ।

राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको धारणा राख्नुभयो ।

त्यसैगरि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आमसञ्चार माध्यमलाई व्यवसायिक रुपमा अघि बढाउन प्रसारण गर्ने विषय सामग्री महत्वपूर्ण हुने भन्दै यसमा ध्यान दिन आग्रह गर्नुभयो । मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारणले फरक र सिर्जनात्मक विषयबस्तु प्रसारण गर्नुपर्ने चुनौती रहेको भन्दै यसलाई दिगो रुपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिन्ह, लोगो सार्वजनिक गरिएको थियो भने नयाँ च्यानल एन टिभी वल्र्डको शुभारम्भ गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News