मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिँदै प्रदेशसभामा राजीनामा घोषणा गरेपछि मधेशको राजनीति तरंगित भएको छ । सो राजीनामा दुई ठूला दल कांग्रेस–एमालेको गठबन्धन भत्किएको छ ।
मुख्यमन्त्री सोनलको राजीनामापछि उत्पन्न परिस्थितिले नयाँ सरकार गठन संविधानको धारा १६८ (२) वा १६८ (३) व्यवस्था अनुसार भएमा संवैधानिक रिक्तता रहेको अवस्थामा प्रदेश प्रमुखले ठूला दलको आधारमा एमालेलाई मुख्यमन्त्री बनाउन लागेको कुरा बाहिरिएपछि कांग्रेसले एमालेसंगको गठबन्धन तोड्दै मधेश केन्द्रित दलहरुसहितको गठबन्धनमा यूटर्न गरेका छन् ।
धारा १६८ (३) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूला दल एमालेको नेतृत्वमा सरकार बनाउन लागेको तयारी भइरहेको कुरा बाहिरिएपछि प्रदेश प्रमुखलाई सचेत गराउन कांग्रेस, लोसपा नेपाल, जसपा नेपाल र जनमत पार्टीसहितका ६ दलीय गठबन्धनले मधेश भवन अगाडि आइतबार दिनभर विरोध प्रदर्शन गरेका छन् ।
हुन त आइतबार दिनभरि अब कसरी अघि बढेर जाने भन्ने विषयमा प्रदेश प्रमुख भण्डारीले प्रत्येक दलसंग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन् । एमालेबाहेकको गठबन्धनको संयुक्त रुपमा गएको डेलिगेशन दलीय टोलीलाई प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम नभइ सबैको सहमतिमै संवैधानिक व्यवस्था बमोजिम विज्ञहरुको राय सल्लाह अनुसार अघि बढ्ने आश्वस्त गराएकी छन् ।
आइतबार डेलिगेशनपछि संचारकर्मीहरुसंग कुराकानी गर्दै मुख्यमन्त्री जितेन्द्र सोनलले आफूले राजीनामा दिए पनि अहिले हामीसंग बहुमत जिवितै रहेको कारण संवैधानिक व्यवस्था अनुसार १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न गरेको अनुरोधमा प्रदेश प्रमुखले सर्वसहमतिमै संवैधानिक प्रक्रिया अनुसार अघि बढ्ने प्रतिवद्धता जनाइन् ।
त्यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले विगतको नजिरलाई नियाँल्दै संघीयता र लोकतन्त्रिक व्यवस्था जोगाउन संवैधानिक व्यवस्था अनुसार धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न आफूहरुले गरेको अनुरोधमा संविधान र लोकतन्त्रको मर्म अनुसार नै विज्ञहरुको राय सल्लाह अनुसार अघि बढ्नेछौं आश्वस्त गराउनु भएको बताए ।
प्रदेश प्रमुख कार्यालयका सचिव शत्रुधन यादवको अनुसार ठयाक्कै यति समयमै नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्ने कुनै समयावधि तोकिएको छैन । तर व्यवहारिक अभ्यास अनुसार २/३ दिनभन्दा बढी समय नलाग्ने उनको भनाइ छ । उनले भने, ‘ दलहरुसँग प्रदेश प्रमुखज्यूको छलफल भएको छ अब भोली विज्ञहरुको छलफल पश्चात नयाँ सरकार गठनका लागि सोमबार वा मंगलबारसम्म आह्वान गरिनेछ ।’ यसैबीच कांग्रेसको यूटर्नले एमाले अहिले एक्लिएको छ भने यससंगै मुख्यमन्त्रीबारे अन्योलता कायम भएको देखिन्छ ।
कांग्रेससहितको ६ दलीय गठबन्धनमा जसपा नेपाल र लोसपासमेत मुख्यमन्त्रीको दाबेदार रहेको छ । तर यसबारे दलहरु बीच भने सहमति नभएको बताइएको छ । मुख्यमन्त्री सोनलले दिएको राजीनामा प्रकरणमा संवैधानिक रिक्तता रहेको छ । एक दल वा दुई दलको सहकार्यमा, ठूला दलको आधारमा र अन्तरिम सरकार गठन गर्ने लगायतका संविधानमा व्यवस्था रहेको छ ।
तर पहिलो पटकमै विश्वासको मत नलिँदै मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार बन्ने आधारमा गठन गर्न संवैधानिक रिक्तता रहेको बताइन्छ । तर व्यवहारतः संवैधानिक परम्परामा राजनीतिक अवस्था अनुसार विगतको नजिरलाई टेकेर जान सकिने संवैधानिक व्यवस्था रहेको संविधानविद्हरू बताउँछन् ।
संविधानविद् डा. भीष्म उपाध्यायले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत नलिइ राजीनामा दिए भने पनि, जबसम्म त्यो दलसंग बहुमत कायम छ र नयाँ नेता प्रस्ताव गर्न सक्छ, सरकार गठन पुनः १६८(२) अनुसार नै हुनुपर्छ ।’ यस्तै संविधानविद् एवं पूर्वमहान्यायधिवक्ता चन्द्रकान्त ज्ञवालीका अनुसार मुख्यमन्त्रीले राजीनामा दिइसकेपछि पनि बहुमत दल अस्तित्वमा छ भने प्रदेश प्रमुखले पुनः सोही दलका अर्को नेतालाई १६८(२) नियुक्त गर्न सक्छन् । त्यस्तै अर्का संविधानविद् भेषराज अधिकारीको अनुसार ‘मुख्यमन्त्रीको राजीनामाले दलभित्र विभाजन भए वा बहुमत गुमायो भने स्थिति १६८(३) तर्फ आकर्षित हुन्छ ।



