मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सरोज कुमार यादवलाई विहान नियुक्त गरिएदेखि जनकपुरधामको मधेश भवन तनावग्रस्त बनेको छ । एकाविहानैदेखि मधेश भवनको मुख्य प्रवेश द्वार र मधेश भवन भित्र विरोध भइरहेको छ ।
सोहीबिच आज विहान मधेश प्रदेशका केही सांसद र नेता कार्यकर्ता मधेश भवन भित्र प्रवेश गर्ने क्रममा सुरक्षाका लागि खटेका प्रहरीले रोकेपछि विवाद भएको छ । भित्र प्रवेश गर्न रोकेपछि उनीहरुले प्रहरीलाई धक्का दिएर भित्र प्रवेश गरेका छन् ।
मुख्यमन्त्रीको नियुक्ति प्रक्रियामा असन्तुष्ट समूहले प्रहरी र मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि कुटपिट गरेको छ । मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारी र कार्यालयको सुरक्षामा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरिएको जनाइएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी गोविन्द थपलियाले असन्तुष्ट समूहले बिहान केही अभद्र व्यवहार गर्न खोजेको बताए ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि नेपाली कांग्रेससहितका दलले विरोध गरिरहेका छन् ।




