रौतहटमा करिब १० बिघा जग्गा किर्ते प्रकरणमा संलग्न रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। केशर प्रसाद पौडेलद्वारा दर्ता गरिएको जाहेरीका आधारमा कटहरिया नगरपालिका–१ ९क० स्थित ९ बिघा १८ कठ्ठा १५ धुर क्षेत्रफलका २४ कित्ता जग्गा किर्ते खडा गरी अवैध रूपमा आफ्नो नाममा दर्ता गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–८ का ५२ वर्षीय राधाकृष्ण उपाध्याय पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार उपाध्यायले अदालतको फैसला किर्ते खडा गरी त्यसकै आधारमा जग्गा गैरकानुनी रूपमा आफ्नै नाउँमा दर्ता गराएका थिए। उनी फरार रहेका बेला जिल्ला प्रहरी कार्यालय रौतहटले गत २३ गते उनलाई नियन्त्रणमा लिएको हो। शुक्रबार जिल्ला अदालत गौरमा प्रस्तुत गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसअघि सो प्रकरणमा संलग्न कटहरिया–१ का ४२ वर्षीय रामपुकार महतो कोइरीलाई गत १३ गते नै प्रहरीले पक्राउ गरिसकेको थियो। दुवैजनामाथि लिखितसम्बन्धी कसुर तथा किर्ते जग्गा दर्ता प्रकरणमा छानबिन जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले एक सूचना जारी गरी शुक्रवार साँझ सार्वजनिक गरेका छन्।
प्रहरीका अनुसार दुवै अभियुक्त अहिले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहँदै थप अनुसन्धान भइरहेको छ। जग्गा किर्ते गराएका उपाध्याय र महतो लामो समय देखि लुकिछिपी बस्दै आएका थिए।
त्यसैगरी अङ्गभङ्ग मुद्दाका फरार प्रतिवादी राजपुर नगरपालिका १ बहुअर्वा गाउँका बीरेन्द्र राय यादव शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ।
उता जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छल्दै नेपाल तर्फ ल्याइँदै गरेको अबैध सामान बरामद गरेको छ। प्रहरी टोलीले विभिन्न स्थानमा निगरानी र गस्तीका क्रममा करिब १लाख, ११हजार,८५५ रुपैया बराबरको किराना सामग्री, कपडा, मोबिल तथा अन्य उपभोग्य वस्तु बरामद गरेको हो।
बरामद सामानहरू आवश्यक कारवाहीको लागि शुक्रवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जनाएको छ।



