मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर राजनीतिरक अस्थिरता बढ्दै गएको छ । मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नलिँदै राजीनामा दिएपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम ठूला दलको आधारमा नेकपा एमालेका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्ति गर्दा विवाद बढेको छ ।
मुख्यमन्त्री नियुक्ति प्रक्रिया विवादास्पद रहेको र अस्वभाविक ढंगले शपथ गराइएको भन्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी बर्खास्त गरी संविधानको धारा १६८ (२) नयाँ मुख्यमन्त्रीको माग सहित आन्दोलनमा उत्रेका छन् ।
मुख्यमन्त्री यादवले मधेशवासीको नाममा सम्बोधन गर्दै छिमेकी देशप्रति लक्षित, गैर कुटनीतिक अभिव्यक्ति दिएपछि विवाद झन् चुलिएको छ । उनले वीरगञ्जस्थित भारत सरकारको महावाणिज्य दूतावास कार्यालयका प्रतिनिधिहरूले ७ दलीय गठबन्धन दलका नेताहरुसँग प्रत्यक्ष संवाद गर्दै आएको र आन्दोलन गराउने, दलहरू फोड्ने र जुटाउने कार्य गर्दै आएकाले राजनीतिक अस्थिरता बढेको भनेका थिए ।
मधेश केन्द्रित जसपाका नेता सरोज कुमार यादवले मुख्यमन्त्री यादवको अभिव्यक्ति छिमेकी भारतसँग द्वेष फैलाउने खालको रहेको छ । यसले प्रदेशको राजनीतिक वातावरणमा नकारात्मक प्रभाव पार्ने मात्र दुई देशबीच रहेको बेटीरोटीको सम्बन्धमा खलल पार्ने गरी देशको सम्बन्धमा तनाव सिर्जना गर्ने अवस्था निम्त्याएको आरोप लगाएका थिए ।
कार्तिक २४ गते बिहान झिसमिसे शैलीमा यादवलाई मुख्यमन्त्रीको शपथ गराइएपछि मधेशमा अस्थिरताको नयाँ चक्र शुरु भएको थियो । विवादपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई हटाएर नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्ण नियुक्त गरिए पनि राजनीति स्थिर हुन नसकी झन् अस्थिरताको भूमरीमा फस्दै गएको राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाले टिप्पणी गरे ।



