२०८२ मंसिर २, मंगलवार ११:५९

रौतहटको फतुवाबिजयपुर नगरपालिकाका ११ जना वडा अध्यक्षहरुले प्रमुख जिल्ला अधिकारी सिडियो दिनेश सागर भुसाललाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्। नगरपालिकामा पछिल्ला समय देखिएको प्रशासनिक अव्यवस्था र कार्यालय बन्दका कारण स्थानीय सेवाग्राही मारमा परेको भन्दै सोमवार वडाअध्यक्षहरू जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन्।

वडा नम्बर २ का वडा अध्यक्ष सञ्जय भन्ने अनुरुद प्रसाद यादवका अनुसार कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र उनका श्रीमान् बीचको विवादले नगरपालिका तथा ११ वटै वडा कार्यालयमा तालाबन्दी हुने अवस्था सिर्जना भएको हो। कार्यालयमा कार्यरत करार कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत परिवर्तनको विरोधमा तालाबन्दी गरेपछि नगरपालिका पूर्ण रूपमा बन्दभएको वडाअध्यक्षहरूको आरोप छ।

वडाअध्यक्षहरूले कार्यवाहक नगरप्रमुख खातुनले आफ्ना श्रीमान् शेख सेराजको दबाबमा प्रमुख प्रशासकीय अधिकृत भरत यादवको सरुवा गराएको गम्भीर आरोप लगाएका छन्। वडाअध्यक्ष यादवका अनुसार–“कानुन विपरीतका कार्यहरू गर्न अस्वीकार गर्दै आएका प्रमुख प्रशासकिय अधिकृत यादवलाई हटाएर अर्को अधिकृत मदन थापालाई ल्याउन खोज्दा नै विवाद चर्किएको हो।”

वडा नम्बर १ का वडा अध्यक्ष विजय कुमार यादवले नगरपालिकाको विवादको मूल कारण आर्थिक अनियमिततामा रहेको दाबी गरेका छन्।उनका अनुसार पहिले नै कालोपत्रे गरिएको सडकमा पुनः ५० लाखको माटो पुरी ग्राभेल गरिएको देखाउँदै नक्कली बिल तयार गरी रकम भुक्तानी गराउन दबाब दिइएको थियो, जुन प्रमुख प्रशासकीय अधिकृत यादवले अस्वीकार गरेपछि झनै द्वन्द्व बढेको हो।

यता, नगरपालिकामा कार्यरत ८२ जना करार कर्मचारीको तलब कार्यपालिका बैठकले निर्णय गरे पनि कार्यवाहक नगरप्रमुख खातुनले आफ्नो श्रीमानको निर्देशनमा तलब रोकिरहेको वडाअध्यक्षहरूको आरोप छ। कार्यालय बन्द हुँदा दैनिक सेवा प्रक्रिया पूर्ण रूपमा बाधित भएको र स्थानीयले अत्यधिक सास्ती भोगिरहेको वडाअध्यक्षहरूले बताए।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुसालले नगरपालिकाको कार्यालय सञ्चालन सामान्य बनाउन आवश्यक सबै पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

फतुवाबिजयपुर नगरपालिका पछिल्ला केही सातादेखि आन्तरिक विवाद र शक्ति–किचलोका कारण प्रशासनिक रूपमै अस्तव्यस्त बनेको छ। स्थानीय जनप्रतिनिधि तथा सेवाग्राही सबैले छिटो समाधानको अपेक्षा गरेका छन्।

उता कार्यवाहक मेयर खातुनले सम्पूर्ण आरोपको खण्डन गर्दै आफूले नियमसंगत काम गर्दैआएको प्रतिक्रिया दिएकी छिन्।फतुवा बिजयपुरमा नेपाली कांग्रेस पार्टीबाट मेयर पदमा निर्वाचित गोपाल प्रसाद यादव दुईवर्ष अघि बिशेष अदालत द्वारा भ्रष्टाचार मुद्दामा दण्ड जरिबाना तोकिएर उनको पद गएपछि उपमेयर खातुन कार्यवाहकको जिम्मेवारी पाएकी थिइन्।

Comment


Related News