बाराको जितपुर सिमरामा नेकपा एमाले– जेन– जी समूहबीच भएको झडपपछि उत्पन्न परिस्थितिको समाधानका लागि गरिएको वार्ता सम्पन्न भएको छ ।
बाराको पथलैयामा शुक्रबार प्रशासन र जेन– जीबीच भएको वार्तामा तीन बुँदे सहमति भएको बाराका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिए । वार्तापछि बाराका प्रमुख जिल्ला अधिकारी मिश्रले जेन– जीहरूको सुरक्षाको व्यवस्था, घाइतेहरूको उपचारमा समन्वय तथा घटनाको निष्पक्ष छानबिन र आवश्यक कारबाही सम्बन्धी तीन बुँदे सहमति भएको बताए ।
वार्तामा सहभागी जेन– जी समूहका अगुवाहरूले आफूहरूलाई निरन्तर धम्की आइरहेको उल्लेख गर्दै सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरे । घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेको थियो । जेन– जी समूहले अहिलेसम्म पक्राउ नपरेका आरोपीहरूलाई कुन दिनसम्म पक्राउ गर्ने हो भन्ने म्याद तोक्नुपर्नेमा जोड दिए पनि प्रजिअ मिश्रले सार्वजनिक रूपमा देखिँदै हिँडिरहेका आरोपीलाई पक्राउ गर्न निर्देशन भइसकेको प्रस्ट्याए ।
यता वार्ता सम्पन्न भएलगत्तै बाराका एसपी सन्तोष तामाङलाई फिर्ता बोलाइएको छ । जिल्ला प्रहरी कार्यालय बारामा एसपी नरेन्द्र कुँवरलाई काजसरुवा गर्ने निर्णय गरिएको जनाइएको छ । बाराको एसपी परिवर्तन गर्ने निर्णय भएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले पुष्टि गरे ।
नरेन्द्र कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए । बाराको सिमरामा नेकपा (एमाले) का कार्यकर्ता र जेन– जी प्रदर्शनकारी बीचमा बुधवार झडप भएको थियो । झडप भएसंगै स्थानीय प्रशासनले कफ्र्यु लगाएको थियो । प्रदर्शन नियन्त्रणमा लिन बिहीबार प्रहरीले गोली चलाएको थियो । जेन– जी प्रदर्शनकारीले आफ्ना समर्थकलाई कुटपिट गरेको आरोपमा ९ जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।
प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर– २ का अध्यक्ष धन बहादुर श्रेष्ठ र वडा नम्बर– ६ का अध्यक्ष कैमुद्धिन अन्सारीलाई पक्राउ गरेको छ ।



