अपडेट 
२०७७ बैशाख १८, बिहीबार १०:५२

जनकपुरधाम । जनकपुर बम काण्डको आठ वर्ष वितेको छ। २०६९ वैशाख १८ मा जनकपुरको रामानन्द चोकमा अनसन बसेकाहरुलाई लक्षित गरेर बम विस्फोट गराइएको थियो। उक्त घटनामा ५ जनाको मृत्यु भयो। करिब दुई दर्जन अनशनकारी घाइते भएका थिए।

मिथिला राज्य माग गर्दै उनीहरु धर्नामा बसेका थिए। बम विस्फोटमा परी मिथिला नाट्यकला परिषद्का कलाकार रञ्जु झा, सुरेश उपाध्याय, दीपेन्द्र दास, झगरू मण्डल र बिमल शरणको ज्यान गयो। उनीहरुलाई ०७० मा सरकारले शहिद घोषणा गरे।

बमकाण्डका शहिदहरुको सम्झनामा हरेक वर्ष बलिदानी दिवस मनाइन्थ्यो। तर यसवर्ष कोरोना भाइरसबाट जोगिन लकडाउन गरेका कारण बलिदानी दिवस मनाउन मनाएन। मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले लकडाउनका कारण कार्यक्रमको आयोजना गर्न नसकेपछि घरमै र फेसबुकमार्फत शहिदहरुमाथि श्रद्धाञ्जली अर्पण गरेको जानकारी दिए।

बम काण्डलाई सम्झदै उनले भने, ‘त्यो कालो दिन सम्झिदा आँखाबाट आँशु झर्छ । बम विस्फोट हुन्छ भन्ने कल्पना पनि गरेका थिएनौं । विस्फोट भएपछि मेरै अगाडि कतिजना लडेका थिए।’
‘दुश्मनीका कारण आफूलाई लक्षित गरेर र मिथिला आन्दोलन दबाउन विस्फोट गराएको थियो,’ उनले थपे ।

बमकाण्डका मुख्य योजनाकार थिए– पूर्वराज्य मन्त्री सञ्जय साह ‘टक्ला’ । उनीसहित ७ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको जेल सजाय सात वर्षपछि अदालतले सुनाइएको छ। हालः उनीहरु जेलजीवन विताइरहेका छन्।

बम काण्डपछि मिथिला आन्दोलन शिथिल भयो। ‘घटनापछि औपचारिक आन्दोलनको घोषणा गरी कार्यक्रम त भएको छैन,’ मैथिली विकास कोषका अध्यक्ष चौधरी भन्छन्, ‘तर हामी मिथिला प्रदेश र मैथिली भाषाका लागि निरन्तर कार्यक्रम गरिरहेका छौं।’

उनी प्रदेश २ को नाम मिथिला र भाषा मैथिली राख्न निरन्तर फरक तरिकाले संघर्ष गरिरहेको बताउँछन् । ‘प्रदेश २ को नाम मिथिला नभए पनि मिथिला–मधेस वा मिथिला भोजपुरा राख्नुपर्छ’, उनी भन्छन्, ‘प्रदेशको कामकाजी भाषा मैथिली हुनुपर्छ । यसका लागि पटक–पटक विभिन्न राजनीतिक दलसँग कन्भिन्स गरिरहेका छौं।’

Comment


Related News

Latest News

Trending News