सीताराम विवाहपञ्चमी मेलाको क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाले ६३ जना चोर पाकेटमारलाई पक्राउ गरेको छ ।
श्रद्धालुहरूको साथबाट चोरी र पाकेटमारीको घटनामा संलग्न रहेको आरोपमा ३७ भारतीय र २६ नेपाली नागरिक प्रहरीले पक्राउ गरेका छन् । जनकपुरधामको विभिन्न स्थानबाट ५० पुरुष र १३ महिला सहित ६३ जना चोर पाकेटमारलाई नियन्त्रणमा लिइएको धनुषाका डिएसपी गणेश भट्टले जानकारी दिएका छन् । उनीहरूमाथि चोरी, पाकेटमारी र लुटपाटका घटनामा संलग्न रहेको आरोप छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद १ लाख २७ हजार ८४ रूपैयाँ, १५ थान मोबाइल फोन, १२ थान मंगलसुत्र र अन्य सुन जस्तो गरगहना, तथा तीन थान चाँदीको अंगुठी बरामद गरेको छ । धनुषाका प्रहरी प्रमुख रुगम बहादुर कुँवरले मेलामा भीडभाडको फाइदा उठाएर यस्ता आपराधिक क्रियाकलाप गर्न सक्छन कुराको दृष्टिगत गर्दै सादा तथा पोशाकमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
खासगरी तीर्थयात्रीहरु विश्राम गर्ने ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको थियो । सोही क्रममा ती चोर पाकेटमारहरु पक्राउ परेको बताए ।



