२०८२ मंसिर १५, सोमबार १७:२७

सोमबार सम्पन्न एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग २७ रनले नेपाली टोली पराजित भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयोजक यूएईले निर्धारित ५० मध्ये ४५.५ ओभरमा अलआउट हुनुअघि एक सय एक सय ४७ रन बनाएको थियो । सामान्य विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ३३.२ ओभरमै अलआउट हुनुअघि एक सय २० रनमात्र बनाउन सक्यो ।

कमजोर ब्याटिङ नेपाली टोलीको हारको कारण बन्यो । नेपाली टोली ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पेभेलियन फर्कनेक्रम जारी रह्यो । टोलीको कुल स्कोर १६ रन पुग्नुअघि नै नेपालले चार विकेट गुमाएको थियो । ओपनर निरज कुमार यादव एक रनमै आउट भए । अर्का ओपनर वंश क्षेत्री पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका निश्चल क्षेत्री पनि एक रनमै पेभेलियन फर्किए । चौथो नम्बरका ब्याट्सम्यान दर्श सोनारले त खातासम्म खोल्न सकेनन् ।

त्यसपछि विकेटकिपर ब्याट्सम्यान अनिश लुहार र कप्तान अशोक धामीले नेपालको पालीलाई समाल्ने प्रयास गरेका थिए । तर, पाँचौं नम्बरका ब्याट्सम्यान अनिश ४० बलमा चार चौकाको मद्दतले २५ रन बनाउँदै आउट भए ।

अनिशको स्थानमा क्रिज समाल्न आएका चन्दन राम पनि एक रनमै आउट भएपछि नेपाली टोली थप दबाबमा परेको थियो । अशोक पनि ६६ बलमा चार चौकाको मद्दतले ३४ रन बनाउँदै आउट भए ।

आठौँ नम्बरका ब्याट्सम्यान रोशन विश्वकर्माले टोलीको खातामा २५ रन थपे । उनले आक्रामक पाली खेल्दै १६ बलमा दुई छक्का र एक चौका पनि हिर्काए । तर, नेपाली टोली जितसम्म पुग्न सकेन ।

आयोजक यूएईका बलर युगजंग शर्माले तीन विकेट लिए । अली अस्गर शम्सले पनि तीन विकेट हात पारे । नुरउल्लाह अयोबी र युदिस सुरीले दुई–दुई विकेट कुम्ल्याए ।

त्यसअघि, नेपाली टोलीका बलरले प्रारम्भदेखि नै यूएईका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । त्यसैले टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै यूएईले पाँच प्रभावशाली विकेट गुमाइसकेको थियो ।

तर, त्यसपछि अहमद खुदादद र नुरउल्लाह अयोबीले उत्कृष्ट साझेदारी गर्दै यूएईलाई केही राहत दिएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका अहमद खुदाददले अर्धशतकीय पाली खेले ।

उनले टोलीका लागि ७१ रनको योगदान गरे । यसक्रममा उनले एक सय २६ बलको सामना गरी ६ चौका हिर्काए । उनले नुरउल्लाहसँग ५६ रनको साझेदारी गरे ।

नुरउल्लाहले पनि टोलीको खातामा २६ रन थपे । उनले ४७ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । यसका अतिरिक्त, ओपनर आयान मिसबाह (११ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

नेपाली टोलीका बलर दयानन्द मण्डल एक्लैले ६ विकेट लिए । उनले ६.५ ओभरमा दुई मेडन राख्दै केवल १७ रन खर्चिए ।

अपराजित पौडेलले पनि दुई विकेट हात पारे । उनले १० ओभरमा ३९ रन खर्चिए । अशोक धामी र नितिष कुमार पटेलले पनि एक–एक विकेट लिए । यूएईले अतिरिक्त रुपमा १७ रन पायो ।

नेपाली टोली सेमिफाइनलमा मलेसियालाई नौ विकेटको फराकिलो अन्तरले हराउँदै फाइनलमा पुगेको हो । यूएईले भने सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराएको थियो ।

यो प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल र यूएई आगामी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् ।

यो प्रतियोगिताबाट तीनवटा टोली आगामी यू–१९ एसिया कपमा छनोट हुने प्रावधान छ । या प्रतियोगितामा तेस्रो हुने टोली पनि आगामी यू–१९ एसिया कपमा छनोट हुनेछ ।

यू–१९ एसिया कपको १२औं संस्करण डिसेम्बर १२ देखि २१ सम्म यूएईमै आयोजना हुँदैछ । यू–१९ एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको पनि सहभागिता रहने छ ।

Comment


Related News

Latest News

Trending News