२०८२ मंसिर १६, मंगलवार ०६:५९

जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीकी २७ वर्षीया रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा पीडित माइती पक्षले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि सोमवार विरोध प्रदर्शन गरेका छन् ।

सोमवार जिप्रका अगाडि पीडित प्रदर्शनकारीहरूले गरेको प्रदर्शनले अवस्था तनावग्रस्त बन्दै प्रहरीले आन्दोलनरत पक्षसँग संवाद गर्दै जाहेरी दर्ता गर्ने सहमति गरेपछि परिस्थितिलाई नियन्त्रणमा आएको थियो । प्रहरीले उजुरी लिएपनि आरोपितविरुद्ध किटानी जाहेरी लिन मानिरहेका थिएनन् ।

चौतर्फी दबावपछि पनि जाहेरी लिन नमानेपछि बाध्य भएर पीडित सोमवार जिप्रका अगाडि प्रदर्शन गर्दै धर्नामा बसेका थिए । दुई पक्षीय संवादपछि माइत पक्षबाट धनुषाको नगराईन नगपालिका १२ जटहीका सोमन कुमार झाले रोशनीका श्रीमान धनुषाको हंसपुर नगरपालिका ७ पर्साहीका हाल जनकपुरधाम ४ कटैयाचौरी बस्दै आएका प्रशान्त झा, जनकपुरधाम उपमहानगरपालिका ३ देवान पोखरीका सचिन झा र प्रतिक झा लगायतविरुद्ध किटानी जाहेरी दर्ता गराएको पीडित पक्षले जनाएको छ ।

गत बिहीबार राति आफ्नै घरमा मृत फेला परेकी रोशनीको घटनाबारे ससुरा पक्षले ‘आत्महत्या’ भएको दाबी गरेपनि माइती पक्षले भने ‘योजनाबद्ध तरिकाले हत्या गरिएको’ आरोप लगाउँदै आएका थिए । हाल मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगमा कार्यरत प्रशान्त मिश्रको चार वर्षअघि सामाजिक रीति रिवाजअनुसार रोशनीसँग विवाह भएको थियो ।

माइती पक्षले रोशनीका पति प्रशान्त र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए । उजुरी दर्ता भएपछि प्रहरीले आइतबार स्थलगत निरिक्षण गर्दै दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर पछि ससुराको संलगता नदेखिएपछि दिउंसोतिर छाडेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले जनाएको छ ।

‘पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न सकिन्न,’ उनले भने, ‘घटनास्थल निरीक्षण गर्दा मृतकको घाँटीमा डाम लागेको मात्र देखिएको छ । आत्महत्या हो कि हत्या, वैज्ञानिक रिपोर्ट आएपछि मात्र निष्कर्ष निस्कन्छ ।’ प्रदर्शनमा सहभागी मृतकका मामा प्रदीप चौधरीले घटनाको प्रकृति हत्या जस्तै देखिएको दाबी गरेका छन् । उनका अनुसार रोशनीको शरीरमा शंकास्पद चोट देखिनु, घाँटीमा डाम हुनु र रातारात लगाएका कपडा जलाएको घटना थप रहस्यमय बनेको छ ।

प्रहरीले घटनास्थलको पुनः अनुगमन, घरपरिवारका सदस्यको बयान संकलन र उपलब्ध प्रमाणको फरेन्सिक परीक्षणसहित अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News