मधेश प्रदेश सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दै विभिन्न शीर्षकमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
मंगलबार मन्त्रिपरिषद् बैठकबाट धानको समर्थन मूल्य तोकिएको लगायतका विभिन्न निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । मोटो धान प्रति क्विन्टल ४ हजार तोकिएको छ भने मध्यम धानको समर्थन मूल्य ४ हजार २ सय तोकिएको छ । त्यस्तै चैत्रे धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार तोकिएको मुख्यमन्त्री सरोज यादवले जानकारी दिए ।
यी बाहेक विभिन्न ६ वटा निर्णय सरकारले गरेको छ । सुख्खा तथा मन्था प्रकोपबाट प्रभावित किसानहरूलाई सम्बन्धित स्थानीय तह मार्फत क्षतिको विवरण संकलन तया प्रमाणीकरण गराई मधेश प्रदेश सरकारको राहत प्रतिकट्टा रु. १ हजार ५ सयका दरले स्थानीय तह मार्फत उपलब्ध गराउन अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गर्ने, स्नातक तह उत्तीर्ण गरी बेरोजगार रहेका युवाहरूलाई मासिक रु. २ हजारका दरले जीवन निर्वाह (बेरोजगार) भत्ता उपलब्ध गराउने, दलित तथा मुस्लिम समुदायका विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच अभिवृद्धि गर्न स्नातकोतर अध्ययन गर्न प्रति विद्यार्थी रु. एकलाखका दरले छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
यस्तै मधेस प्रदेश लगायत देशैभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने ’रवि दास जयन्तीको अवसरमा आउँदो माघ पूर्णिमाका दिन सार्वजनिक विदा दिने, विविध कारणले बन्द रहेका उद्योग कलकारखानाहरूलाई पुनरुत्वान गरी प्रदेशमा रोजगारी अभिवृद्धि र आर्थिक गतिविधि चलायमान बनाउन आवश्यक पर्ने पुँजी व्यवस्थापनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । यसका साथै मदरसा शिक्षा बोर्ड सम्बन्धि विधेयक तर्जुमा गर्न शिक्षा तथा संस्कृति मन्त्रालय, मधेस प्रदेशलाई सैद्धान्तिक स्वीकृती प्रदान गरिएको जानकारी समेत मुख्यमन्त्री यादवले जानकारी दिए ।
यी निर्णयहरू मार्फत प्रदेश सरकारले धार्मिक, सांस्कृतिक र सामाजिक संरचनाको संरक्षणसँगै बेरोजगार युवा, विद्यार्थी, विपन्न समुदाय र परम्परागत पेशामा संलग्न व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी समन्वित सामाजिक सुरक्षा विस्तारतर्फ महत्वपूर्ण कदम चालेको उनले बताए ।



