भारतमा बस्दै आएका रोहिंग्या शरणार्थीहरू खुल्ला सीमानाकाका कारण नेपाल प्रवेश गर्न थालेपछि मधेश प्रदेशका सीमा नाकाहरूमा कडाइ गरिएको छ ।
गृह मन्त्रालयले भारतसंग जोडिएको सीमानाका जोडिएका मधेश प्रदेशको आठ वटै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेपछि मधेश प्रदेशका सम्पूर्ण सीमा नाकाहरूमा कडाइ गरिएको छ ।
मधेश प्रदेशका ८ जिल्लाहरूमा शंकास्पद व्यक्तिहरूलाई रोकेर सोधपुछ गरेर मात्र नेपाल छिर्न दिइएको छ । बंगलादेशी रोहिंग्याहरुको अनुहार मधेश प्रदेशका केही समुदायसंग मिल्दोजुल्दो भएकाले खुल्ला सीमानाकाको फाइदा उठाएर प्रवेशको खतरा रहेकाले विशेष सुरक्षा सतर्कता अपनाइएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जिल्ला सुरक्षा समितिको निर्णयपछि सीमा नाकामा सुरक्षा निगरानी बढाइएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी लुइँटेलले सीमा नाका तीनै तहका सुरक्षा निकाय परिचालन गरेर उनीहरूको अवैध प्रवेश हुन नदिनका लागि कडाइ गरिएको बताए ।
जेन– जी पुस्ताको आन्दोलनको क्रममा केही रोहिंग्याहरुको घुसपैठ आन्दोलनमा देखिनुका साथै लुटपातमा संलग्न रहेको पाइएपछि त्यसप्रति सुरक्षा चासो बढेको छ । भारतमा हजारौँको संख्यामा बसोबास गर्दै आएका रोहिंग्या समुदाय हुन सक्ने अनुमान सुरक्षानिकायको रहेको छ ।



