मिथिला– मधेशका चर्चित टिम लभ यू मिथिला को ‘कलकतियावाली’ सिरियल टिम सवार गाडी जनकपुरधाममा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा लोकप्रिय अभिनेता श्याम कुमार राम (अठीवा) टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य कलाकारहरू सामान्य घाइते भएका छन् । उक्त जानकारी टिमका सञ्चालक अरुण विजयाले दिएका छन् ।
टिमले मंसिरदेखि शुरु गरेको चर्चित अनलाइन सिरियल ‘विकाउ कनिया’ को सुटिङका लागि नगराईन जाँदै गर्दा जनकपुरधामको रुपैठा क्षेत्रमा गाडी दुर्घटना भएको हो । तीव्र गतिमा आएको गाडीलाई झाडीमा लुकेर बसेका ट्राफिक प्रहरीले अचानक सडकमा आएर रोक्न खोजेपछि अगाडि रहेको मोटरसाइकल फर्कन खोज्यो । सोही क्रममा पछाडि रहेको कलाकार सवार गाडीले आकस्मिक ब्रेक लगाउनुपर्दा गाडी सडकको डिभाइडर चढेर तीन पटक पल्टिएको सञ्चालक विजयाले बताए ।
गाडीमा सातजना कलाकार सवार रहेका थिए । सबै घाइतेहरूलाई प्रदेशीय अस्पताल जनकपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ । कलाकार अभिनाश झाले ट्राफिक प्रहरीले गम्भीर लापरवाही गर्दा दुर्घटना भएको आरोप लगाएका छन् । घटनापछि आक्रोशित स्थानीयहरूले प्रहरीमाथि जताझुकि गर्न खोजे पनि अन्य प्रहरी टोलीले आएर सम्बद्ध प्रहरीलाई उद्धार गरेको बताइएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय धनुषाले टिमका सदस्यलाई आवश्यक प्रक्रिया पूरा गर्न कार्यालयमा उपस्थित हुन भनिएको सञ्चालक विजयाले जानकारी दिए।




