सात वटै प्रदेशका प्रदेश लोक सेवा आयोगको पाँचौं सम्मेलन जनकपुरधाममा शुरु भएको छ ।
जनकपुरधाममा बिहीबारदेखि शुरु भएको पाँचौ सम्मेलन शुक्रबारसम्म चल्ने प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले जनाएको छ । योग्यता, निष्पक्षता, स्वच्छता र समावेशीता नाराका साथ बिहीबारबाट सुरु भएको दुई दिने सम्मेलन शुक्रबार सम्पन्न हुने जनाइएको छ ।
सम्मेलनमा ७ वटै प्रदेशका लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रमको उद्घाटन लोक सेवा आयोगका केन्द्रीय अध्यक्ष माधव प्रसाद रेग्मी र मधेश प्रदेश लोक सेवा आयोगका अध्यक्ष शिवराम यादवले गरेका छन् । उक्त सम्मेलनमा सात वटै प्रदेशका लोक सेवाका अध्यक्षहरुले आ–आफ्नो प्रदेशमा विद्यमान लोकसेवा सम्बन्धी कार्य योजना एवम् समस्याहरुको बारेमा छलफल गर्ने जनाइएको छ ।
छलफल पश्चात सम्भावित समाधानलाई टिपोट गरी कार्यान्वयनका लागि सम्बन्धित नियकाहरुलाई समन्वय गर्न पठाइने बताइएको छ । उक्त सम्मेलनको अन्तिममा शुक्रबार जनकपुर घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको मधेश प्रदेश लोक सेवाका अध्यक्ष यादवले जनाए । उनले उक्त घोषणा पत्रको आधारमा आगामी आयोगको कामकाज अगाडि बढाइने बताए ।



